नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिँदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे ।
विज्ञापन
अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएका माओवादीका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उनले बिहीवार छलफल गरेका छन् ।
विज्ञापन
अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका नेता ढकालको भनाइ छ । अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गरे । व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए ।
फेसबुक प्रतिक्रियाहरु