बिहिबार, कार्तिक १३, २०८२
  • होमपेज
  • समाचार
  • एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर माओवादीले सपना नदेखे हुन्छ : उपाध्यक्ष पाैडैल
समाचार

एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर माओवादीले सपना नदेखे हुन्छ : उपाध्यक्ष पाैडैल

काठमाण्डाै । 

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले स्थानीय तह चुनावमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले एमाले एक्लै चुनाव लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने दाबी गर्नुभयाे । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उहाँकाे दाबी छ ।

विज्ञापन

आज आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा (माओवादी केन्द्र) लाई चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो – ‘यो स्थानीय तहको चुनावमा एमाले एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु, त्यसखालको सपना नदेखे हुन्छ ।’

विज्ञापन

 

उपाध्यक्ष पाैडेलले माओवादी केन्द्रसँग तालमेलका लागि कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र र एमालेको बीचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाइप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयाे, माओवादी केन्द्रसँग एमालेको कुनै पनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि हिसाबले वार्ता भएको छैन ।एमालेका अध्यक्षले आत्मालोचना गर्नुपर्ने भन्ने हास्यास्पद कुरा हो । कम्युनिस्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरूले बनाइरहनुभएको छ । दुनियाँलाई थाहा छ, हिजो उहाँहरूले कथित जनयुद्ध सुरु गर्दा त्यति बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरूले कथित जनयुद्ध सुरु गर्नुभएको थियो । आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरूले यो सरकार बनाइरहनुभएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । नेकपा एमाले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । आफ्ना कामप्रति एमालेलाई गर्व छ । त्यस कारणले यो आत्मालोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।’

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस