काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर गम्भीर बहसमा छ । पार्टीको मूल नेतृत्व गठबन्धनका पक्षमा छ ।
कांग्रेस नेतृत्वले नेकपा एमाले कमजोर नभएको टिप्पणी गर्दैै उसलाई कमजोर बनाउन पनि गठबन्धन गर्नुपर्ने तर्क राखिरहेका बेला तल्लो तहमा भने त्यसको व्यापक विरोध भएको छ ।
विज्ञापन
गठबन्धनको औचित्य स्थापित गर्न गाह्रो हुने र पार्टीलाई दीर्घकालीन राजनीतिमा पनि घाटा पुग्ने तर्क तल्लो तहका कार्यकर्ताको छ ।
विज्ञापन
तर कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि गठबन्धन गर्नैपर्ने पक्षमा दृढ छन् ।
कांग्रेस सभापतिसँगको नियमित छलफलबाट गठबन्धन हुनेमा ढुक्क देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव कांग्रेसभित्रको छलफल र कतिपय संसथापनपक्षकै धारणाबाट भने झस्किएका छन् । त्यसैले कांग्रेसबाहेकका सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर कांग्रेसलाई नै टक्कर दिनसक्ने विश्लेषणमा पुगेको माओवादीका एक नेता बताउँछन् ।
उनका अनुसार प्रचण्डले आन्तरिकरुपमा यसपल्टको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको कुनै औचित्य नभएको तर कांग्रेसले नमाने अर्को गठबन्धन बन्ने या एक्लै पनि निर्वाचन जान सकिने हुँदा त्यसको तयारीमा लाग्न आन्तरिक निर्देशन दिइरहेका छन् ।
प्रचण्ड पनि कांग्रेससँग पूरै विश्वस्त भने छैनन् । माओवादीसहित सत्ता गठबन्धनका बाँकी दल कांग्रेसप्रति ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् ।
कांग्रेससहितको गठबन्धन सबैभन्दा सुरक्षित र एमालेलाई वास्तविक साइजमै पुर्याउन उपयोगी भए पनि गठबन्धन नभए त्यसको लाभ कांग्रेसबाहेकका सत्तारुढ पार्टीहरुले लिने उनीहरुको विश्लेषण छ ।
“अहिलेसम्म कांग्रेसको मूल नेतृत्व गठबन्धनका पक्षमा देखिएको छ । तर, कांग्रेसभित्रको बहस गठबन्धनका पक्षमा देखिँदैन । त्यसो भयो भने सत्तारुढ दलहरुको गठबन्धनले नै कांग्रेसलाई चुनौती दिनेछ,” माओवादी केन्द्रका एक नेताले भने, “केही सहरी क्षेत्रलाई हेरेर माओवादी केन्द्र, नेकपा एस र जसपा कमजोर छन् भन्ने विश्लेषण भइरहेको छ । तर, यी तीन दलको गठबन्धन भयो भने कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुन्छ ।”
उनले एमाले भाषणमा बलियो देखिए पनि चुनावका लागि फिल्डमा पूग्दा निकै कमजोर सावित हुने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर दाहाल भने कांग्रेसमा पनि कमजोर पक्षले मात्र गठबन्धनविरुद्ध मत राखिरहेको भन्दै गठबन्धन हुनेमा शंका नरहेको बताए । उनले कांग्रेसमा देउवाको, माओवादीमा प्रचण्डको, नेकपा एसमा माधवकुमार नेपालको र जसपामा उपेन्द्र यादवकै पक्ष बलियो र निर्णायक भएको भन्दै छिटपुट विरोधको खास अर्थ नरहेको बताए ।
“कांग्रेसभित्र गठबन्धनका पक्ष विपक्षमा छलफल भइरहे पनि त्यहाँ शेरबहादुर देउवा धेरै बलियो हुनुुहुन्छ । उहाँले चाहेपछि खास–खास ठाउँमा हुन्छ,” दाहालले भने, “त्यस बाहेक माओवादी केन्द्र कर्णालीसहितका निश्चित ठाउमा एकदमै बलियो छ । अन्यत्र पनि अरु पार्टीसँग प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्थामा छैन । अरुले माने पनि नमाने पनि भर्खरै गठन भएको माधव नेपालको पार्टी नेकपा एस मधेस र सुदूरपश्चिममा एमालेभन्दा बलियो छ । उपेन्द्र यादव पनि क्षेत्रीय पार्टीमा सबैभन्दा बलियो छन् । यो गठबन्धनले एमालेलाई त सजिलै हराउन सक्छ । गठबन्धनमा नबसे प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ ।”
उनले मधेसमा सबैभन्दा बलियो टिम यो गठबन्धनकै हुने समेत दावी गरे ।
दाहालले त एमालेले दम्भ देखाएपनि चुनावी प्रतिस्पर्धा उसका लागि महंगो हुने बताए । काठमाडौं र केही सहरी क्षेत्रमा अझैपनि एमाले बलिायो नै छ तर, अन्य क्षेत्रमा उसको जनमत कमजोर भएको उनको बुझाई छ ।
“तीन वर्षसम्म सरकारको नेतृत्व गर्दा एमाले ठूलठूला काण्डहरुमा मुछिएको छ । त्यसबाट सफाइ दिएर जनताले विश्वास गर्ने अवस्था छैन,” दाहालले भने, “माधव नेपालको टिममा थुप्रै नेता कार्यकर्ता बाहिरिएका छन् । फूटका कारण शक्ति क्षण भएको एमालेसँग कुनै एजेन्डा पनि छैन ।”
उनले एजेन्डा नै नभएको पार्टीले अरुलाई आलोचना गरेर त्यो भन्दा म ठिक छु भन्दैमा सबैले पत्याउन गाह्रो हुने बताए ।
नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी कांग्रेसको संस्थापन पक्ष गठबन्धनकै पक्षमा रहेको भन्दै अन्तमा पाँच दलीय गठबन्धन नै चुनावमा जाने विश्वास गर्छन् ।
गठबन्धनका विषयमा केन्द्रबाट निर्णय हुन नसकेको अवस्थामा सम्बन्धित स्थानीय तहमा पनि धेरे ठाउँमा कांग्रेससँगै गठबन्धन हुने अवस्था बनेको उनी बताउँछन् । तर, कांग्रेसले गठबन्धनका विपक्षमा उभिएमा भने माअोवादी केन्द्र–नेकपा एस र जसपाकैबीचमा गठबन्धन हुने उनको बुझाई छ । त्यस्तो अवस्था हुँदा कांग्रेस, यो गठबन्धन र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने र एमाले तेस्रो हुने उनको बझाई छ ।
“कांग्रेसले गठबन्धनका पक्षमा निर्णय गरे र गठबन्धनबाट आफूलाई अलग राख्न चाह्यो भने नेकपा एस–माओवादी र जसपाकै गठबन्धन हुन्छ र यो समीकरण एकदमै उपयुक्त पनि हुन्छ,” चौधरीले भने, “यस्तो अवस्था बन्यो भने पनि हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । एमाले तेस्रो र सानो शक्तिका रुपमा कायम रहन्छ ।” उनले संविधान र लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु एक ठाउँ उभिँदा राम्रै सन्देश जाने भए पनि कांग्रेस अलग हुँदा प्रतिस्पर्धा थप रोचक हुने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी भने कांग्रेसबाहेकका सत्तारुढ पार्टीको गठबन्धन बन्न लागेको विश्लेषणसहित कांग्रेससँग सहकार्यको तयारीमा छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति देउवासँग पटक–पटक छलफल गरेका छन् । त्यही छलफलकै परिणाम मधेस आन्दोलनका क्रममा लागेका राजनीतिक मुद्दा फिर्ता, नागरिकता ऐन मार्फत अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता दिनेसहितका मुद्दा सम्बोधनका लागि सरकार–लोसपा कार्यदलले काम गरिरहेको छ । यसमा सहमति भएलगत्तै लोसपा सरकारमा समेत सामेल हुने तयारीमा छ ।
“जसपा सुरु देखि नै सरकारमा सामेल भए पनि उसले मधेसका मुद्दामा चासो राखेको छैन । महन्थ ठाकुरजीको सक्रियतामा लोसपाले मधेस आन्दोलनका मुद्दा सम्बोधनको प्रयास अघि बढाइएको छ,”
लोसपा नेता डा. सुरेन्द्र झाले बाह्रखरीसँग भने, “अहिले सरकारमा रहेका कांग्रेस बाहेकका दल एउटा गठबन्धन निर्माणमा जुटिरहेका छन् । एउटा लोकतान्त्रिक पार्टीको हैसियतमा लोसपाले मधेस प्रदेशमा कांग्रेससँग गठबन्धन गर्न सक्छ ।”
उनले मधेसमा कांग्रेस र लोसपा गठबन्धन भयो भने त्यो गठबन्धन सबैभन्दा बलियो हुने बताए ।
फेसबुक प्रतिक्रियाहरु