काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अप्राकृतिक गठबन्धनमा नजानको लागि कांग्रेस र यसको नेतृत्वलाई सुझाव दिएका छन् । पत्रकारसँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने,‘आजदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक हुँदैछ । हाम्रो सुझाव के छ भने, अप्राकृतिक गठबन्धनमा कांग्रेस नजाओस् । किनभने चितवनमा कांग्रेसकै कार्यकर्ताले विज्ञप्ति निकालेको स्थिति छ । लोभीपापी पार्टीहरुलाई बोकेर हिँड्नु कांग्रेसको महाभूल हुनेछ ।’
विज्ञापन
वाम एकता र गठबन्धनका नाममा आफूहरुले अब ‘डेट–एक्सपायर’ नेताहरुलाई नबोक्ने पनि बस्नेतको भनाई छ । उनले भने,‘यो एमालेको हितमा छैन । हामी एकल ढंगले जान्छौं निर्वाचनमा । आम रुपमा हामी गठबन्धन निर्माण गर्दैनौं । तर स्थानीय तहमा गर्छन् भने हामी स्वीकार्छौं । तर हिजोजस्तो ४० प्रतिशत दिएर चुनावमा जाने गल्ती गर्दैनौं । आफैं दुई तिहाइ ल्याउने प्रयास गर्छौं ।’
विज्ञापन
उनले सक्ने भए प्रचण्ड र माधव नेपालले एक्लाएक्लै चुनाव लडेर देखाऊन् पनि चूनौति दिए । उनले अब माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने पनि घोषणा गरे । एमालेमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी र भूमिका दिने उनको भनाई छ ।
मुलुक अब एमाले र कांग्रेस गरी दुई दलीयतातिर उन्मुख भएको दाबी गरे । उनले वर्तमान सरकारलाई लैबरी सरकारको संज्ञा दिए । उनले भने,‘यो लैबरी सरकार हो, ९ महिनामा अर्थतन्त्र डामाडोल भयो । शेरबहादुर देउवा १० किलोमिटर बाटोमा १० लाख खर्चेर हेलिकप्टरमा जानुभएको छ ।’
फेसबुक प्रतिक्रियाहरु