काठमाडौं । नेपालका वामपन्थी दलबीच पुनः एकता हुनुपर्ने बहसले यतिबेला राजनैतिक बजार गर्माएको छ । खासगरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल विभाजित हुँदा कमजोर हुने भएकाले नै यी दलबीच एकता हुनुपर्ने बहसले पछिल्लो समय चर्चा पाएको हो ।
स्थानीय तहको निर्वाचन नजिसिकएसँगै वाम पार्टीहरुबीच एकता हुनुपर्ने बहसले चर्चा पाएसँगै पाँच दलीय गठबन्धनको नेतृत्वमा रहेको कांग्रेस तरंगित हुनपुगेको छ । केही दिनअघि नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सम्पन्न कार्यकर्ता भेलालाई ७० प्रतिशत मत रहेका वामपन्थीबीच एकता भएमा काँग्रेस फेरि पनि समस्यामा पर्ने बताए ।
विज्ञापन
कांग्रेसकै अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले गत मंगलबार विराटनगर मै आयोजित पार्टी कार्यक्रममा वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको खुलासा गरे । उनले कांग्रेसभित्र वामपन्थी एकताले पर्नसक्ने असरबारे चिन्ता समेत जाहेर गरेका थिए ।
विज्ञापन
कांग्रेसको नेतृत्व तह र सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी आगामी चुनावमा गठबन्धनकै आधारमा लड्ने भन्न छोडेका छैनन् । त्यसको विरोधी कित्ताको नेतृत्व गरेका कोइरालाले २०७४ मा जस्तो एमाले र माओवादीहरू मिलेर चुनावमा जाने अवस्था आएमा कांग्रेस नै समस्यामा पर्ने धारणा राखेबाट पनि पछिल्लो समय सुरु भएको वाम एकताको बहसले काँग्रेसलाई तरंगित तुल्याएको सहजै अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय वाम एकताको बहस शुरु गरेका एमाले नेता घनश्याम भुसालले आइतबार बसेको एमाले पोलिटब्यूरो बैठकमा समेत आफ्नो एकता सम्बन्धी धारणालाई प्रवेश गराए । बैठकमा भुष्सालले वाम एकताको मात्रै चर्चा गरेनन्, उनले एकता प्रक्रियाको नेतृत्व समेत एमालेले नै लिनुपर्ने बताएका थिए ।
विभाजनको वैचारिक र सैद्धान्तिक आधार नै नभएकाले कम्युनिस्ट पार्टीहरु अलग–अलग रहनुको औचित्य पुष्टि नहुने भुसालको तर्क रहेको छ । भर्खरै अलग भएको एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग अलग सैद्धान्तिक कार्यक्रम नभएकाले पनि गठबन्धन र एकता अपरिहार्य रहेको तर्क उनले राखे ।
सो क्रममा उनले माक्र्सवाद, लेनिनवादको कुरा गरेपनि सँधै गल्ती गर्ने वाम प्रवृत्तिको खुलेरै चर्चा गरे । वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउने यो बहस त्यतिकै भने चलेको हैन । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरूको गठबन्धनले दुई तिहाइ नजिक बहुमत प्राप्त गरेको थियो ।
गत निर्वाचनको परिणाम मूल्याङ्कन गरेकै आधारमा यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहसले चर्चा पाएको हो । तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीको नेतृत्व तहमा भने शत्रुतापूर्ण सम्बन्ध कायमै छ ।
झट्ट हेर्दा यो विभाजनलाई कृत्रिम मान्न सकिन्छ । यतिबेला एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा देखिएको मतभेद नेतृत्व तहका नेताहरुबिचको प्रवृत्तिगत मतभेद मात्रै हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्दै आएका छन् । यता एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका सरकारलाई ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा दक्षीणपन्थीको सरकार बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचनामा रमाइरहेका छन् ।
चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको नेपाल भ्रमणको पुर्वसन्ध्यामा शुरु भएको यो एकताको बहस यसैपनि अर्थपूर्ण रहेको विश्लेषण भइरहेको छ । नेपालको दुई रातको बसाईमा चिनियाँ नेताले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई भेट्ने चर्चा र एकताको बहसकाबीच कहीं न कहीं सम्बन्ध रहेको भन्न सकिने आधारहरुलाई नकार्न सकिँदैन ।
यस्तो अवस्थामा वामपार्टीबीचको विभाजनको फाइदा लिएर निर्वाचनमा बहुमत जुटाउने कसरतमा लागेको नेपाली कांग्रेसमा तरंग सिर्जना हुनुलाई अस्वभाविक मान्न सकिन्न । अर्कातिर नेता वामदेव गौतमले वाम एकताको आबश्यकता रहेको भन्दै नेकपा एकता राष्ट्रिय अभियान नै सञ्चालन गर्दै आएका छन् ।
गौतमको भनाइमा समाजवादसम्मको राजनीतिक यात्राका लागि पनि वाम एकता एकता आवश्यक छ । गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि तत्कालीन नेकपा विभाजित बन्यो ।
खारेजीमा परेसँगै विभाजित हुन पुगेको तत्कालिन नेकपाको बिभाजनको मुख्य राजनैतिक कारण पार्टी भित्रको शक्ति बाँडफाँडले जन्माएको तिक्तता र ओलीले गरेको संसद् विघटन रहेकै कारणले पनि अहिले देखिएको वाम दलबिचको विभाजन सैद्धान्तिक भने होइन ।
व्यक्तिगत टकवारवका कारण भएको विभाजनलाई फेरि चुनावी रणनीतिका कारण जोड्न सक्छ भन्ने तर्कलाई कमजोर मान्न सकिने अवस्था छैन ।
फेसबुक प्रतिक्रियाहरु