शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • ‘हेल्लो जिन्दगी’लाई छैन दीपिका र प्रियंकाको साथ, आक्रोशित भए निर्देशक
समाचार

‘हेल्लो जिन्दगी’लाई छैन दीपिका र प्रियंकाको साथ, आक्रोशित भए निर्देशक

फिल्म रिलिजको समयमा कलाकारहरुले पब्लिसिटीमा साथ नदिनु फिल्म क्षेत्रको स्थायी समस्या हो । पारिश्रमिक बुझिसकेपछि प्रायः कलाकारहरु विभिन्न बहानामा प्रचार-प्रसारबाट पन्छिन खोज्छन् अनि निर्माता तथा निर्देशकहरु मिडियामा गुनासोको पोको खोल्न सुरु गर्छन् । हुन पनि, करोडौंको लगानीमा बनाएको फिल्मको प्रचार-प्रसारमा कलाकारले साथ नदिँदा निर्मातालाई पीडा हुन्छ नै ।

यही चैत १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को हकमा पनि यस्तै भएको छ । फिल्मको रिलिज र प्रचारकै लागि भनेर बेलायतबाट नायक विक्रम डि जोशी र अमेरिकाबाट निर्देशक एभरेष्ट सूर्य बोहोरा नेपाल आइसकेका छन् । तर, फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका दुई नायिका प्रियंका कार्की र दीपिका प्रसाईंले भने पब्लिसिटीमा नाकमुख देखाएका छैनन् ।

विज्ञापन

यतिसम्मकी यी दुई नायिकाले फिल्मको गीतदेखि ट्रेलर समेत सामाजिक सञ्जालमा शेयर गरेका छैनन् । यस्तो लाग्छ, उनीहरुलाई ‘हेल्लो जिन्दगी’ कहिलेदेखि चल्दैछ भन्ने समेत पत्तो छैन । कानमा तेल हालेर बसेका छन् । पारिश्रमिक लिएर फिल्ममा अभिनय गरेपछि प्रचारमा हिँड्नु कलाकारको धर्म हो । तर, प्रियंका र दीपिकाले फिल्मको प्रचार-प्रसार नै बहिष्कार गरेका छन् ।

विज्ञापन

मंगलवार राजधानीमा फिल्मको एक गीत सार्वजनिक कार्यक्रममा दुवै अभिनेत्री उपस्थित नभएपछि निर्देशक एभरेष्ट सूर्य बोहोरा आक्रोशित भए । विभिन्न बहाना बनाएर अभिनेत्रीहरु कार्यक्रममा उपस्थित हुन नमानेको बताउँदै उनले यस्ता कलाकारहरुकै कारण नेपाली फिल्मलाई दुर्गतीको बाटोमा धकेलेको बताए । पूरा पारिश्रमिक लिएपछि फिल्मको प्रचारमा हिँड्नु पर्ने उनको भनाई छ ।

निर्देशक बोहोराले भने- ‘फिल्म क्षेत्रमा धेरै राम्रो कलाकारहरु पनि हुनुहुन्छ । तर, केही यस्ता कलाकारहरु पनि हुनुहुन्छ, जो पैसा लिने बेला अगाडि पुग्नुहुन्छ । पैसा नलिएसम्म सास पनि फेर्न मान्नु हुन्न । तर, पैसा लिइसकेपछि अनुहार पनि देखाउनु हुन्न ।’ रोनाधोना गर्दै विभिन्न बहाना बनाएर छायांकन नसकिँदै पूरा पारिश्रमिक लिएको आरोप पनि उनले दुई अभिनेत्रीमाथि लगाएका छन् ।

‘प्रियंका आमा बनेका कारण कार्यक्रममा उपस्थित हुन नसकेको हुनुपर्छ । तर, दीपिकाजीलाई मैले लिखित रुपमा म्यासेज पठाउँदा जहिल्यै उहाँको केही न केही दुखेको हुन्छ । कहिले टाउको दुखेको त कहिले पेट दुखेको भनेर बहाना बनाउनु भयो,’ उनले भने । प्रमोशनभन्दा अगाडि नै सबै पारिश्रमिक दिइसकेका कारण अहिले आफूले धोका पाएको निर्देशक बोहोरा गुनासो गर्छन् ।

प्रमोशनपछि मात्र कलाकारलाई पूरा पारिश्रमिक दिनुपर्ने पाठ सिकेको बताउँदै उनले आफूले दुवै अभिनेत्रीलाई दिल खोलेर पारिश्रमिक दिएको पनि बताए । प्राप्त जानकारी अनुसार, फिल्मका लागि दीपिकालाई ११ लाख र प्रियंकालाई निर्माण टिमले साढे पाँच लाख पारिश्रमिक तिरेको छ । दुई अभिनेत्रीले साथ नदिएपछि नायक विक्रम डि जोशी यतिबेला एक्लै प्रचारमा दौडिरहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस