काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी ‘भत्काउन सकिने’ बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेकपाको विभाजन र कम्युनिस्ट एकताको औचित्य पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बाँकी रहेको बताए ।
विज्ञापन
विज्ञापन
“हामीले गाली गरेका छौँ, हाम्रो पार्टी अर्कैले फुटाइदिएको हैन । हामी जिम्मेवार छौँ भन्दियो भने आसन्न चुनावमा वाम एकता हुने प्रशस्त सम्भावना छ । त्यसपछिका कुरा पछि नै गरौँला । पार्टी एकताका लागि छलफल चलाउन सकिन्छ,” उनले भने, “हामीले हाम्रा अध्यक्ष कमरेड केपी ओलीलाई बुझाउन बाँकी छ र अरूले तहअनुसार बुझेका छन् । माओवादी र नेकपा (एस) मा अवस्था उस्तै छ ।”
नेता भुसालले नेकपा विभाजनमा मुख्य ‘प्लेयर’हरू अहिलेका तीन अध्यक्ष भएको जिकिर गरे । आफूहरू पनि सहायक भएको भन्दै उनले पद र भूमिकाअनुसार विभाजनमा योगदान र पसिना सबैले बगाएको बताए ।
“साना मिहिनेतले अहिले बर्बाद भएको हैन । यसको आधारमा हामीले जिम्मेवारी लियौँ भने यो चुनावमा गठबन्धन बन्न सक्छ,” उनले भने ।
अबको कम्युनिस्ट एकता नेताहरूको व्यक्तिगत स्वार्थमा नहुने पनि उनले बताए । “नेताहरूको स्वार्थको आधारमा एकता हुँदैन भन्ने बुझिएको छ । अब एकता हुँदा निजी स्वार्थमा टेकेर एकता भयो भने हालत यस्तो हुनेछ भनेर हामीले थाहा पाइसक्यौँ,” उनले भने ।
फेसबुक प्रतिक्रियाहरु