स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउन नेपाली कांग्रेस तयार नभए नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) ले तालमेल गर्ने तयारी गरेका छन्।
कांग्रेसका केही नेताहरुले गठबन्धन बनाउन नहुने बताएपछि यी तीन दलले ‘प्लान बी’ बनाएका हुन्। यसबारे तीनै दलका नेताबीच औपचारिक र अनौपचारिक छलफल भइरहेको छ।
विज्ञापन
हालै कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गठबन्धन बनाउन नहुने अभिव्यक्ति दिएका थिए। कांग्रेस गठबन्धन कायम राख्न अनिच्छुक रहेको विश्लेषण गर्दै तीन दलले आपसी सहकार्यको योजना बनाएर सो योजनामाथि बहस गरिरहेका छन्।
विज्ञापन
यद्यपि कांग्रेससँगको सत्ता गठबन्धन कायम राख्न जोड दिने उनीहरुको भनाइ छ।
तीन दलबीच मात्र चुनावी गठबन्धन बने त्यसलाई ‘वामपन्थी गठबन्धन’ भन्ने उनीहरुको तयारी छ। संवादमा रहेका एक नेताले दिएको जानकारी अनुसार त्यो गठबन्धनमा एमालेलाई सहभागी गराउने सम्भावना छैन।
एकीकृत समाजवादी पार्टीका एक पदाधिकारीले कांग्रेससँगको गठबन्धन स्थानीय तहसम्म पुग्न सक्ने सम्भावना नभए वामपन्थी गठबन्धन बनाएर जाने समझदारी एक तहमा भइसकेको स्वीकार गरे।
‘हामी वामपन्थी गठबन्धन बनाएर स्थानीय चुनावमा होमिन्छौँ,’ ती नेताले भने, ‘कांग्रेसभित्र गठबन्धन भत्काउन केही लागेका छन्। त्यहाँसम्म जानु पर्दैन कि भन्ने छ। सकेसम्म कांग्रेसलाई सँगै राखेर जानेछौँ, नभए अर्काे प्रयत्न अघि बढेको छ।’
कांग्रेसका पदाधिकारीहरुबाट पटकपटक व्यक्त भएका अभिव्यक्तिले आफूहरुलाई झस्काएको ती नेताले बताए।
‘हुन त सभापति शेरबहादुर देउवाले गठबन्धन कायमै राखेर स्थानीय चुनावमा जाने बताउनुभएको छ। तर उहाँकै पदाधिकारी तहका साथीहरुले हामीलाई होच्याउनेगरी अभिव्यक्ति दिनुभएको छ। यो हेपाइ सहने कुरा हुँदैन। हामीले व्यवस्था बचाउन कांग्रेससँग गठबन्धन बनाएका हौँ अपमानित हुन होइन,’ ती नेताले भने।
माओवादी केन्द्रका एक उच्च नेताले पनि एकीकृत समाजवादी र जसपासँग नीति र कार्यक्रम बढी मिल्ने भएकोले कांग्रेस तयार नभए पनि तीन दलबीचको गठबन्धन बन्ने दाबी गरे।
‘यदि परिस्थितिमा कुनै वदलाब आएन भने एकीकृत समाजवादी र जसपासँगको गठबन्धन सबै चुनावमा कायम रहन्छ,’ ती नेताले भने, ‘नीति, कार्यक्रम, उदेश्य मिलेको छ।’
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि यो गठबन्धन कायम राख्न सहमत छ।
‘विगतमा मुद्दा मिलेपछि हामी एउटै गठबन्धनमा अटेका थियौँ, अहिले पनि त्यही अवस्था छ,’ जसपाका एक नेताले भने, ‘प्रचण्डजीको पार्टी र माधव नेपालजीको पार्टीसँग मिलेर पनि स्थानीय तहको चुनावमा हामी प्रतिस्पर्धा गछौँ।’
तर, जसपामा डा. बाबुराम भट्टराई पक्षका केही नेताहरुले गठबन्धनको बारेमा स्पष्ट धारणा राखेका छैनन्।
एमसीसी अनुमोदन गर्न गठबन्धन नै भत्काउन पनि तयार हुनुपर्ने अभिव्यक्ति दिएका डा. भट्टराई कांग्रेससँगै मिलेर जाने पक्षमा छन्। स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न शुक्रबार, शनिबार र आइतबार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। त्यो बैठकमा यसबारे छलफल हुने जसपाका नेताहरु बताउँछन्।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले स्थानीय तहको स्थिति अध्ययन गर्न नेताहरुलाई खटाइसकेको छ। नेकपा एकीकृत समाजवादीले पनि नेताहरुलाई जिल्ला र प्रदेशमा खटाएको छ।
‘आ–आफ्ना स्थिति प्रष्ट भएपछि गठबन्धनको स्वरुप बनाउँछौँ,’ एकीकृत समाजवादीका ती नेताले भने, ‘त्यसबारे छलफल भइसकेको छ।
अर्काे विकल्पमा जानुअघि कांग्रेससहितको गठबन्धन निर्वाचनमा पनि कायम राख्ने प्रयास भइरहेको नेकपा एकीकृतका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
‘कांग्रेससहितको गठबन्धन राखेर जान अधिकतम प्रयत्न हुन्छ,’ तुलाधरले भने, ‘आज केन्द्रीय समितिको बैठकमा पनि अध्यक्षले त्यही भन्नुभयो।’
माओेवादी केन्द्रका नेता शक्ति बस्नेतले अहिले कांग्रेससहितको गठबन्धनलाई सबै निर्वाचनसम्म कायम राखेर जाने कुरामा ध्यान दिएको बताए।
‘नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी गठबन्धनको मोडेल के ल्याउँछ हामी हेरिरहेका छौँ,’ बस्नेतले भने, ‘अहिले भएकै गठबन्धनलाई तलैसम्म लैजान ध्यान दिन्छ कि दिँदैन।’
बुधबार बागमती प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिँदै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले धेरै हेप्न खोजे एक्लै चुनाव लड्न सक्षम रहेको बताएका थिए।
‘स्थानीय तहमा गठबन्धन जोगाएर जाने भए पनि हामी तयार छौँ,’ प्रचण्डको भनाइ प्रष्ट पार्दै बस्नेतले भने, ‘यदि नमिलाउने हो भने हामी एक्लाएक्लै लड्न तयार छौँ। त्यहीअनुसार अध्यक्षले परिचालित हुन निर्देशन दिनुभएको छ।’
गठबन्धनलाई स्थानीय तहमा लैजाने कुरालाई तल्लो तहका नेता कार्यकर्ताले नमान्ने हुन् कि भन्ने डर कांग्रेसलाई पनि छ।
‘उहाँहरुको पार्टी संरचना ‘मास बेस’ हो, हाम्रो जस्तो संगठित भएर नेताले भनेको कुरा लुरुक्क मान्नैपर्ने हुँदैन,’ बस्नेतले भने, ‘वामपन्थी फुटेका बेला एक्लै सबैतिर जितिन्छ भन्ने कांग्रेसकै नेताहरुलाई लागेको हुनसक्छ।’
माधवकुमार नेपाल मात्र पहिलो पटक नयाँ पार्टीबाट चुनाव लड्दैछन्। २०७४ मा भएको स्थानीय तहको चुनावमा उनी एमालेमै थिए। सो चुनावमा एमाले–माओवादी, कांग्रेस–माओवादी र एमाले–कांग्रेसबीच पनि चुनावी तालमेल भएका थिए।
‘माओवादी बलियो भएको ठाउँमा कांग्रेस र एमालेले तालमेल गरेका थिए,’ नेता बस्नेतले भने, ‘एमाले बलियो भएको ठाउँमा कांग्रेस माओवादले गरे। कांग्रेस बलियो भएको ठाउँमा एमाले र माओवादी केन्द्रबीच पनि तालमेल भएको थियो।’
तीन दलबीच स्थानीय तहको उम्मेदवारी बाँडफाँट गर्दा बलियो पार्टीलाई नेतृत्व दिने विधि अपनाइने माओवादी केन्द्रका एक नेताले बताए।
‘जुन पार्टी बलियो अवस्थामा छ, नेतृत्व त्यसैलाई दिएर अन्य पद बाँडफाँट गर्ने मोटामोटी सुझाव छ। त्यसो गर्दा सबै प्रदेशमा उम्मेदवार उठाउन र जिताउन सहज हुन्छ,’ उनले भने।
मधेश प्रदेशमा जसपा, कर्णाली, लुम्बिनीमा माओवादी केन्द्र र सुदूरपश्चिममा एकीकृत समाजवादी बलियो अवस्थामा रहेको उनीहरुको आकलन छ।
फेसबुक प्रतिक्रियाहरु