सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको दाबी गरेका छन्।
आइतवार संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परिरहेका बेला प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो भनेका हुन्।
प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफैं र दूत खटाएर संवाद बढाएपछि प्रचण्डको यो भनाइ आएको हो।
उनले ‘क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको’ पनि जिकिर गरेका छन्। माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने चर्चा छ। यस्तो भएमा कांग्रेसले गठबन्धन तोड्ने चेतावनी दिइरहेका बेला दाहालले प्रतिक्रान्तिकारीहरु सल्बलाएका बताएकाहुन्।
‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, प्रचण्डले बुधबार फेसबुकमा लेखेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयौँ षड्यन्त्र रचिरहेर भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ।’
फेसबुक प्रतिक्रियाहरु