आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • पशुपतिमाथि गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण हुँदैन : मन्त्री आले
समाचार

पशुपतिमाथि गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण हुँदैन : मन्त्री आले

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटो भन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ ।

मङ्गलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा बतासले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटो भन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो ।

विज्ञापन

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने काम गरेका छन् । त्यो कतै पनि सह्य हुनेवाला छैन ।

बतास समूहले पाएको अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ । जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन । हुँदा पनि हुँदैन ।

कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए झन्डै चार सय जना जनाभन्दा बढी बाबाहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । वृद्धहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पत्ति फिर्ता ल्याउनेछौँ ।’

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरूभन्दा भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उहाँले निर्देशनसमेत दिनुभयो । धर्मावलम्बीहरूलाई सहज रूपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो ।

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मङ्गलवारका दिन परेको छ । यस वर्ष त्यो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।

पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस