काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताउनुभएको छ ।
आज मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतकाे विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी सङ्घ–संस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने बताउनुभएको हो । यद्यपि विदेशी सहयोग लिँदै लिन्नँ भनेर बढी क्रान्तिकारी हुनु नहुने पनि उहाँले बताउनुभयो । सहयोगको बहानामा हस्तक्षेप गर्ने र नेपालीलाई आफैँले चलाउने प्रकारको सहयोग भने लिनु नहुने भन्दै उहाँले यस्ता प्रकारका कुरामा पहिले नै स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो । आफूखुसी सहयोग लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
विज्ञापन
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशी सरकार र सङ्घ–संस्थाबाट पाइने सहयोगका बारेमा धेरै पटक छलफल, बहस हुने गर्छ । तर यसलाई हामीले कडाइ गर्नुपर्छ । तर सहयाेगकाे बहानामा हामीमाथिको हस्तक्षेप र देशलाई अरूले नै चलाउने त हुनु हुँदैन । आफूखुसी सहयाेग लिने र चल्ने गराउने प्रवृत्तिलाई रोक्नुपर्छ भन्ने हिसाबले यसलाई अलि कडाइ गर्नुपर्ने हुन्छ । यस्ता कुराहरूमा पनि भविष्यमा ध्यान दिनुपर्छ ।’
विज्ञापन
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयकहरू प्रतिनिधि सभामा वर्षाैँदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधि सभामा यसरी विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधि सभालाई घचघचाउनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा गएको विधेयकलाई पनि ६० दिनको सीमा दिइनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले आउँदाे एक वर्ष चुनावी वर्ष हुने भएकाले प्रतिनिधि सभाले विधेयक पारित गर्न नसक्ने हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो । विधेयक पारित गर्न सकिएन भने विधेयकहरू शून्यमा जाने भएकाले राष्ट्रिय सभाले पारित गरेका विधेयकहरू यो प्रतिनिधि सभामा नपठाउने बारेमा आफूले सोचिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अबको एक वर्षभित्र त चुनाव हुन्छ । पास गरेन भने यी विधेयक के हुन्छन् ? यति दुःख गरेर बनाएका दर्जनौँ विधेयक त सबै शून्यमा गयो नि । यो मेहनत, यो खर्चकाे भागीदार ? कोही न कोही त हुनुपर्याे नि । नत्र किन दुःख गरिरहने ? यो गम्भीर प्रश्न हाे । मैले त अहिले सोचिरहेको छु, पास गरेर पनि तल नपठाउने । या त मन्त्री, सचिवहरू आएर, सम्बन्धित प्रस्तुत गर्नेले आएर हामी त्यहाँ यति दिनभित्रमा त्यो ल्याउन सक्छौँ भन्नुपर्याे । नभए त्यहाँ त जान्छ, त्यहाँ प्रस्तुत गरेर टेबुल गरिदियो । त्यो संसद् सकिएपछि ती सिद्धियो । अनि के अर्थ हुन्छ ? फेरि दोहोर्याएर यिनै विधेयक भोलि हामीले छलफल गराउनुपर्ने, त्यही काम गराउनुपर्ने हुन्छ ।’
अध्यक्ष तिमिल्सिनाले छलफलमा आएका विधेयकलाई छिटो भन्दा छिटो सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । छलफलका क्रममा विधेयक सार्वजनिक हुँदा सरोकारवालाले सुझाव दिन सक्ने र विधेयक सुधारिएर आउने उहाँको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु