शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री र सभामुखबीच चर्काचर्की: ठाकुरलाई संसदको अध्यक्षता गर्न देउवाको प्रस्ताव
समाचार

प्रधानमन्त्री र सभामुखबीच चर्काचर्की: ठाकुरलाई संसदको अध्यक्षता गर्न देउवाको प्रस्ताव

Renu Dahal

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई बालुवाटारमा बोलाएर अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न आग्रह गरेपछि दुई जनाबीच चर्काचर्की भएको छ । देउवाले आग्रह गरेपनि सभामुख सापकोटाले भने राष्ट्रिय सहमति नभई आफूले कुनै हालतमा एमसीसी टेबल नगर्ने जवाफ दिएपछि तनावको अवस्था बनेको थियो ।

विज्ञापन

प्रधानमन्त्री देउवानिकट नेपाली कांग्रेसका एक नेताकाअनुसार एमसीसी टेबल गर्ने विषयमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच त्यो दिन तनावको स्थिती बनेको थियो । त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर देउवाले तनावबारे जानकारी गराएका थिए ।

विज्ञापन

‘प्रधानमन्त्रीको हैसियतले म भन्दै छु, तपाईले एमसीसी टेबल गर्नुहोस्,’ प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको संवादलाई उद्धृत गर्दै कांग्रेसका ती नेताले भने । जवाफमा सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट आज्ञा भए तत्काल एमसीसी टेबल गर्ने जवाफ दिए ।

त्यसका लागि राष्ट्रिय सहमति पूर्वशर्त रहेको सापकोटाले बताए । सभामुख सापकोटाले एमसीसी टेबल गर्न असहयोग गर्ने संकेत प्रधानमन्त्री देउवाले झण्डै दुई महिनाअघि नै बुझिसकेका थिए । त्यसपछि देउवा विपक्षी दलहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवादमा रहे ।

प्रधानमन्त्री देउवाले कहिले टेलिफोनमा त कहिले आफ्ना दूतमार्फत ओली र ठाकुरसँग निरन्तर संवाद गरिरहेको खुलेको छ । त्यसपछि प्रधानमन्त्रीको दूत बनेर सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष ओलीसँग कुरा गर्न पटक पटक बालकोट गएका थिए ।

अहिले पनि प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष ठाकुरसँग निरन्तर संवादमा रहेको बताइन्छ । लोसपा अध्यक्ष ठाकुरलाई गत साता प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएर एमसीसीमा सहयोग गर्न आग्रह गरेका थिए ।

ठाकुरले भने सकेसम्म राष्ट्रिय सहमति कायम भए राम्रो हुन्थ्यो भन्दै प्रधानमन्त्री देउवालाई सकारात्मक जवाफ दिएको बताइएको छ । त्यसमा देउवाले सभामुखले आलटाल मात्रै गरे हेरेर नबस्ने भन्दै ठाकुरलाई संसदको ज्येष्ठ सदस्यको हैसियतमा तयार हुन समेत ठाकुरलाई आग्रह गरेका थिए ।

ठाकुरको अध्यक्षतामा एमसीसी टेबल गर्ने रणनीति

महन्थ ठाकुर संसदका ज्येष्ठ सदस्य हुन् । सभामुख सापकोटालाई हटाएको खण्डमा संसदको ज्येष्ठ सदस्यले संसद चलाउन पाउने व्यबस्था छ । सभामुख सापकोटाले एमसीसी टेबल गर्न असहयोग गरिरहे विकल्पमा संसदको ज्येष्ठ सदस्यको हैसियतमा त्यो भूमिका अध्यक्ष ठाकुरले लिनुपर्ने प्रधानमन्त्री देउवाले बताएका थिए ।

एमसीसी अनुमोदनका लागि संसद सूचारु गर्ने वातवरण बनाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पटक पटक आग्रह गरिरहेका छन् । तर ओली सभामुख सापकोटाको राजीनामा नआएसम्म वा उनलाई नहटाएसम्म संसदमा अवरोध जारी रहिरहने अडानमा छन् ।

आफू प्रधानमन्त्री भएका बेला नै एमाले अध्यक्ष ओलीले एमसीसी टेबल गर्न खोजेका थिए । त्यसबेला सभामुख सापकोटा नै बाधक बने । अहिले पनि प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न भन्दैछन्, तर सभामुख सापकोटा टसकोमस भएका छैनन् । सभामुख सापकोटा हटे संसद पनि खोल्ने र एमसीसी पारित गर्नसमेत प्रधानमन्त्री देउवालाई साथ दिने पक्षमा एमाले छ ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयलाई दिएको समयसीमा घर्किँदै गर्दा प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नैपर्ने दबाबमा छन् । देउवा र दाहालले संयुक्त हस्ताक्षर गर्दै एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र गत असोजमा एमसीसी मुख्यालयमा पठाएका थिए । सोही प्रतिबद्धतालाई आधार मान्दै एमसीसी मुख्यालयले संसदबाट एमसीसी पारित गराउन ताकेता गरिरहेको छ ।

एमसीसी पारित गराउँछु भन्दै पत्रमा हस्ताक्षर गर्ने तर आफ्नै हस्ताक्षरको स्वामित्व लिन प्रचण्ड तयार नभएपछि प्रधानमन्त्री देउवा विकल्प खोज्न थालेका हुन् । प्रधानमन्त्री देउवा जसै एमसीसी पारित गर्नुपर्ने बाध्यतामा छन, चाहे गठबन्धन रहोस् वा टुटोस् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस