प्रतिमा कुमाल,
चितवन ।
विज्ञापन
विज्ञापन
दाईजो प्रथाका कारण महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् । कतिको त दाइजोकै कारण ज्यानै गएको उदाहरणहरु हाम्रा समाजमा प्रशस्तै छन् । अझै धेरै महिलाहरु अङ्गभङ्ग हुन पुगेका छन् । यस्तै कुरीतिलाई हटाउन बाराका युवाहरु दाइजो बिरोधी अभियानमा लागेका छन् । सोही अभियानअन्तरगत कोलवी नगरपालिका–५ बालुवाका तुलसी प्रसाद चौधरीले चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीकी सुनिता चौधरीसँग बिना दाइजो विवाह गरेका छन् । माघ १३ गते भरतपुरमा उनीहरु आफ्नो धार्मिक परम्परा अनुसार विवाह बन्धनमा बाधिएका हुन् ।
दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । बारा जिल्ला मधेसमा रहेकाले दाइजो प्रथाको विकृति देखिन थालेपछि दाइजो बिनानै विवाह गरिएको बेहुला चौधरीले बताए । आफू दाईजो प्रथाको सधै विरोधमा रहेको उनको भनाइ थियो । यसमा परिवारको पनि साथ रहेपछि विवाह सफल भएको उनको भनाई थियो ।
बेहुली चौधरीको बुबाको स्वर्गारोहण भइसकेको छ । परिवारमा माहिली छोरी सुनीताको एक दिदी एक बहिनी र भाई रहेका छन् । दाईजो बिनानै तुलसीले साथ मागेपछि विवाहलाई नर्कान नसकिएको उनले बताइन् । उनीहरु दुबै जना स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् ।
सुनिताकी आमा जितकुमारी चौधरीलाई भने अझै दाइजो बिना विवाह सम्पन्न गर्न सकेकोमा विश्वास लागेको छैन् । भित्र भित्र डर लागि रहेको उनले सुनाईन् । उनले भनिन्–‘मधेसमा दाइजो नभए बुहारीलाई हेला गर्छ । मलाई दाइजो दिने विचार छ । चाहिदैन भने पछि मैले के गर्ने । तर, पछि यही कारणले छोरीले दुःख पाउँछेकी भन्ने चिन्ता लाग्छ ।’
बेहुलाका बुबा राम अयोध्या चौधरी भने बिना दाइजो दुवै छोराको विवाह गर्दा खुशी लागेको बताउँछन् । एकै दिन बारामा कान्छा र चितवनमा जेठा छोराको विवाह दाईजो नलिई सम्पन्न गरेको उनले बताए । दुबै छोराले दाइजो लिन हुन्न, लिए बिहे गर्दिन भनेपछि सन्तान कै खुशीमा दाईजोरहित विवाह भएको ध्याको भनाइ थियो । २ छोरा १ छोरीको बुबा ध्यायले छोरीको विवाहमा भने २५ लाख दाईजो दिएको स्मरण गरे । सबैको छोरा आमाबुबाको भावना विकृतिविरुद्ध होस् भन्ने उनको चाहाना छ । हरेक दिदी बहिनीको बिहे बिना दाईजो हुनुपर्ने उनको भनाई थियो ।
बाराको बारघरे गाउँपालिका–५ का प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले आफ्नै विवाहबाट दाईजो नलिने अभियान थालेका हुन् । आफ्नो विवाह पश्चात उनले दाईजो बिना नै विवाह गराएको यो ४औँ हो । मधेसी समाजमा व्याप्त दाईजोको कुप्रथाले त्यहाँका थारु समुदायमा पनि नकारात्मक असर पार्न थालेपछि आफ्नै बिहेबाट दाईजो विरोधी अभियान थालेको उनले बताए । शिक्षित वर्गलेनै दाइजोलाई बढवा दिएको उनको धारणा छ ।
उनले भने, ‘प्रायःजसो मधेसी समुदायका घरमा डाक्टर इन्जीनियर नपढेको कुनै घर नै हुँदैन । तर, उनीहरुमा बढी दाईजो लिने प्रथा छ । बेहुली भनेको सामान जस्तै हो । बेहुलीको मोलतोल हुन्छ ।’ चौधरीले दाईजो बिहिन बिहेका लागि बेहुला–बेहुली पक्षलाई समर्थन गराउन मुस्किल पर्ने गरेको सुनाए । केटाकेटी राजी भएपनि परिवारले नमान्दा समस्या हुने गरेको उनको भनाइ छ । खासगरि मधेसी समाजका मानिसहरुलाई यसमा मनाउन कठिन भएको उनले सुनाए । उनले भने, ‘आफ्नै मधेसी समुदायका साथीहरुकाबीच तपार्ईहरुकोमा दाइजोको सँस्कार एकदमै व्याप्तक छ । यसको विरुद्धमा लाग्नुस् भन्छु, उहाँहरुले साथ दिनुहुन्छ तर, परिवारलाई मनाउन सक्नु हुन्न । यत्रो खर्च गरेर पढाए त्यो दाईजोबाटै निकाल्नुपर्छ भन्ने सोच उहाँहरुको आमाबुबामा देखियो ।’
तराईमा मधेसी समुदायमा दाईजो प्रथा बढी छ । यही दाइजोका कारणले घरेलु हिंंसाहरु पनि बढ्दो छ । उनीहरुको प्रभाव थारुहरुमा पनि विस्तारै पर्दै गएकाले आफ्नै समुदायका शिक्षित वर्गहरुको सहयोगमा अभियान सुरु गरेको बताए । पढे लेखेकाबाट यो अभियान सुरु भए गरिब परिवारलाई पनि राहत मिल्ने उनको भनाइ छ । गरिब परिवारले दाईजो लिन्न भन्दा सामाजिक दबाब पर्न जान्छ । गन्नय मान्य पढे लेखेकाले गरे कसैले बोल्ने आँट गर्दैनन् । प्रमुख प्रशासकिय अधिकृत चौधरीले दाइजो प्रथालाई हटाउन ५० हजारको पुरस्कार पनि राखेको बताए । तर, २ वर्ष अगाडि बजेट फ्रिज भएपछि त्यो अवधिमा कोहि दाइजो लिन्न भनेर नआएको जिकिर गरे ।
छोरीको विवाह गरी बेुहुलाको घर जादा चलअचल सम्पति केटी पक्षले कोसेली वा उपहारको रुपमा दिने चलन सुरु भएको थियो । त्यसैलाईनै दाईजो सँस्कार भनिन्छ । राम्रो कामका रुपमा गरिएको यो चलन नकारात्मक परिणामसहित दाईजो प्रथामा परिणत भयो । यो प्रथा मुख्यतया भारतमा तथा नेपालका केही भागमा चलिआएको कुरीति हो । स्वइच्छाले वा आफू सक्दो दिइने उपहार अहिले ईज्जत्को डरले सकि नसकि दिने गरिन्छ । तराई तथा मधेसमा बेहुला पक्षबाट नै दाइजोको रुपमा अत्याधिक आर्थिक माग हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु