एमालेमा देखिएको विवाद मिलाउन गत असार २७ गते राति असन्तुष्ट १० नेताको समूहले अध्यक्ष केपी शर्मा ओली पक्षसँग १० बुँदे समझदारी गरेका थिए।
वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएको त्यो १० बुँदे सहमतिबाट तत्काल लाभान्वित हुने नेता थिए, उपाध्यक्ष युवराज ज्ञवाली।
विज्ञापन
एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बन्नुअघि एमालेको कर्णाली प्रदेश इञ्चार्ज रहेका ज्ञवालीले १० बुँदे समझदारी लगत्तै पूर्ववत् जिम्मेवारी पाइहाले।
विज्ञापन
सुदूरपश्चिम इञ्चार्ज रहेका भीम रावलको हकमा १० बुँदे समझदारी कार्यान्वयन हुनै पाएन। त्यही कारण उनी दशौँ महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धामै उत्रिए।
१० बुँदे समझदारीको पहिलो कार्यान्वयन नै ज्ञवालीले कर्णाली इञ्चार्जको जिम्मेवारीमा काम थालेर गरे। १० बुँदेअघि कर्णालीको जिम्मेवारी लिएका पूर्व माओवादी नेता मणि थापाले त्यहाँबाट हट्नु पर्यो।
माओवादीबाट एमालेमा गएकामध्ये ओलीले सबैभन्दा बढी मन पराएका मणि थापा हटाएर ज्ञवालीले कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी कसरी प्राप्त गर्न सके? धेरै एमालेजनका लागि यो विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ।
भीम रावलजस्ता नेताले जिम्मेवारी नपाएको स्थितिमा ज्ञवालीले सहजै कर्णाली इञ्चार्जको जिम्मेवारी पाएर त्यसलाई सजिलै कार्यान्वयनमा लगे। १० बुँदे कार्यान्वयनमा हतारिए जस्तै दृश्य शुक्रबार एमाले केन्द्रीय कार्यालय, थापाथलीमा देखियो।
उनले आफ्नो ‘बाठोपन’लाई निरन्तरता दिँदै थापाथलीमा उपाध्यक्षको कुर्सीमा बस्न त्यस्तै हतार देखाए। ज्ञवालीले एमाले केन्द्रीय कार्यालयमा आयोजित नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा हतार हतार कुर्सी लिन पुगे।
पर्याप्त कोठा नरहेकाले एमाले केन्द्रीय कार्यालयले नवनिर्वाचित ६ जना उपाध्यक्षका लागि २ वटा कोठाको व्यवस्था गरेको छ।
त्यसमध्ये पहिले संगठन विभागको कार्यालय रहेको कोठा उपाध्यक्षत्रय सुवास नेम्वाङ विष्णु पौडेल र सुरेन्द्र पाण्डेका लागि छुट्ट्याइएको छ।
विदेश विभागको कार्यालय रहेको कोठा बाँकी तीन उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका लागि राखिएको थियो।
उपाध्यक्षत्रयको कक्ष बनाइएको विदेश विभागको कार्यालयमा यसअघि विभाग प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै कुर्सी, टेबल थिए। तर, नयाँ कक्षहरुको व्यवस्थापनसँगै उपप्रमुख बस्ने टेबुल–कुर्सी हटाएर प्रमुखको कुर्सी मात्रै राखिएको थियो।
यो नयाँ व्यवस्थापनपछि उक्त कक्ष तीन उपाध्यक्षका लागि मिलाइएको थियो। तर टेबुल–कुर्सी भने एक मात्रै उपाध्यक्षका लागि थियो।
अध्यक्ष ओलीको पदभार ग्रहण र पत्रकारलाई सम्बोधनपछि जब महासचिव शंकर पोखरेलले उपाध्यक्षलाई तय गरिएको कोठाबारे सुनाए। त्यसपछि उपाध्यक्ष ज्ञवाली आफूसहित ‘बादल’ र शाक्यका लागि तय गरिएको कक्षमा जान बिलम्ब गरेनन्।
सबैभन्दा पहिले उक्त कक्षमा पुगेका उनी त्यहाँको एउटा मात्रै टेबुल–कुर्सी राखिएको ठाउँ पुगेर बसे। त्यही कक्ष प्राप्त गरेका उपाध्यक्षद्वय थापा र शाक्य अलिक बेरपछि मात्र त्यहाँ पुगे।
थापा र शाक्य कक्षमा प्रवेश गर्दा ज्ञवाली पत्रकारहरुसँग कुरा गरिरहेका थिए। एउटा मात्रै टेबुल–कुर्सी रहेको अवस्थामा ज्ञवाली बसिसकेकाले थापा र शाक्यले बस्न पाएनन्।
त्यही कक्षको एक छेउमा केही कुर्सी थिए। तर, टेबल नरहेकाले थापा र शाक्य त्यहाँ गएर बसेनन्। अफ्ठ्यारो मान्दै उनीहरु केही समय कक्षमै टहलिइरहे।
उपाध्यक्षत्रयलाई बधाई दिन त्यही कक्षमा एमाले कार्यकर्ताहरु प्रवेश गरे। उनीहरुले टेबुलसहितको कुर्सीमा बसिरहेका ज्ञवालीलाई बधाई दिए। कोठामा टहलिरहेकाले थापा र शाक्यलाई बधाई दिन उनीहरुलाई पनि अफ्ठ्यारो भयो।
महिलाका लागि पुरुषले आफ्नो स्थान छाडिदिने प्रचलन भए पनि वरीयताक्रम निर्धारित भइनसकेकाले होला, ज्ञवालीले एक मात्रै महिला उपाध्यक्षका लागि कुर्सी छाडिदिएनन्।
त्यसैबीचमा कसैले प्रश्न उठायो, तीन–तीन उपाध्यक्षका लागि एउटा मात्र कुर्सी?
त्यसपछि ज्ञवालीलाई पनि अप्ठेरो पर्यो। उनले प्रतिक्रिया दिए, ‘थप टेबुल–कुर्सी छिट्टै आउलान्।’
केही समयपछि उपाध्यक्षत्रयको पदभार ग्रहण र स्वागतका लागि महासचिव शंकर पोखरेल फूलमाला लिएर कक्षमा प्रवेश गरे। त्यसपछि एकजना कार्यकर्ताले ज्ञवालीको टेबुल–कुर्सीसँगै जोडेर थप दुई कुर्सी राखिदिए।
उपाध्यक्षद्वय थापा र शाक्य टेबुलबिनाका तिनै सामान्य कुर्सीमा बसे।
टेबुलसहितको कुर्सीमा विराजमान भएकाले त्यो कक्ष पाएका तीनमध्ये ज्ञवाली नै सबैभन्दा वरिष्ठ उपाध्यक्ष जस्तो देखिन्थ्यो।
यो कुरा शाक्यले ‘फिल’ गरिन्। त्यसैले, उनले उपस्थित नेता कार्यकर्तालाई भनिन्, ‘यहाँ कुर्सी–सुर्सी मिल्या’ छैनन्। कुर्सीहरूको सेटिङ मिलाउन बाँकी नै छ।’
फेसबुक प्रतिक्रियाहरु