नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी केन्द्रसँग एकता गर्दा पार्टी अस्तव्यस्त बनेको बताएका छन्।
धनकुटाको खोकुछिन्ताङमा एमालेद्वारा आयोजित सभालाई सोमबार सम्बोधनका क्रममा उनले यसो भनेका हुन्।
विज्ञापन
‘माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि संगठनात्मक जीवन अस्तव्यस्त भएको थियो’, उनले भने, ‘अब एमाले फर्किएपछि हामीले नयाँ उचाई लिएका छौँ। हाम्रो पार्टी नयाँ ऊर्जासहित अघि बढेको छ।’
विज्ञापन
उनले एमाले अरु भन्दा फरक रहेको पनि बताए। ‘एमाले नयाँ बिचारका लागि बहस गर्न सक्छ। त्यही नयाँ विचार बोकेकै कारण अहिले केपी शर्मा ओलीमाथि चौतर्फी हमला भइरहेको छ’, पोखरेलले भने, ‘अबको हाम्रो यात्रा दक्षिणपन्थी अवसरवादविरुद्ध हुनेछ।’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको कुरा गरेर कम्युनिष्ट आन्दोलनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको पाउमा चढाएको पनि आरोप लगाएका छन्।
‘प्रचण्ड र माधव नेपालले समाजवादको कुरा गरेर कम्युनिष्ट आन्दोलन र समाजवादको यात्रालाई शेरबहादुर देउवाको पाउमा चढाएका छन्’, उनले थपे, ‘प्रचण्डको नेतृत्वमा समाजलाई विभाजित गर्ने काम भयो। पार्टीभित्र संगठनात्मक अराजकता मच्चाएर प्रचण्डले पार्टी कब्जा गर्न खोजे।’
पोखरेलले नयाँ सन्देश दिने योजनासहित लाखौँ मानिस उतारेर चितवनमा दशौँ महाधिवेशन उद्घाटन हुन लागेको पनि बताए।
‘हामी लाखौँ मानिससहित महाधिवेशन उद्घाटन गर्दैछौँ। एमाले जनतामा आधारित कार्यकर्ताको पार्टी हो देखाउन चाहन्छौँ ‘, उनले भने, ‘केपी ओली समृद्धिको अभियानका नायक हुन्। तर स्वार्थी र अवसरवादीहरुले घेराबन्दी गरेका छन्।’
उनले आगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने पनि बताए। ‘हामी आउने चुनावको माध्यमबाट एमालेलाई पहिलो पार्टी बनाउनेछौँ’, पोखरेलले भने, ‘हामी फेरि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर राष्ट्र निर्माणमा जुट्ने छौँ।’
फेसबुक प्रतिक्रियाहरु