चिनियाँ कम्युनिस्ट पार्टीको भाषाशैलीमा ‘ऐतिहासिक संकल्प’ पदावलीले खास राजनीतिक महत्व र अर्थ बोक्छ। पार्टीको एक सय वर्ष लामो इतिहासमा आजसम्म नेताहरुले यो पदावली प्रयोग गरेर दुई पटक मात्र दस्तावेज तयार गरेका छन्। पार्टीलाई कमजोर तुल्याइरहेका प्रमुख मुद्दा समाधान गर्न ल्याइएका ती दस्तावेजले इतिहासको मार्गलाई नै बदलिदिएका थिए।
विज्ञापन
पहिलो संकल्प माओ त्सेतुङको निर्देशनमा १९४५ मा जारी भएको थियो। त्यसले पार्टीलाई स्टालिनवादी प्रभावबाट मुक्त गरेको थियो र पार्टीलाई अघि बढाउन मार्गनिर्देशक सिद्धान्तमा माओ विचारधारालाई समावेश गरेको थियो।
विज्ञापन
१९८१ मा देङ स्याओपिङले दोस्रो संकल्प ल्याए र सांस्कृतिक क्रान्ति सुरु गरेकोमा माओलाई परित्याग गरे। त्यो दस्तावेजले माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तका रुपमा निरन्तरता दिए पनि पार्टीमा देङको सत्तालाई सुदृढ गर्यो र उनको सुधार र खुलापनको नीतिवरिपरि पार्टीलाई गोलबन्द पार्यो। जसले चीनको आर्थिक उत्थानको मार्गप्रशस्त गर्यो।
आगामी महिना सी चिनफिङको निर्देशनमा पार्टी नेतृत्वले यस्तै तेस्रो संकल्प छलफलमार्फत पारित गर्ने तयारी गरेको छ।
यो घोषणाले स्वाभाविक रुपमा देश र विदेशमा पनि चर्चा बटुलेको छ। सो दस्तावेजको शब्दचयनले सीको सत्ता र महत्ताबारे प्रकाश पार्न सक्छ। अघिल्ला दुई संकल्पले जस्तै तेस्रो संकल्पले पनि पार्टीको विगतका गल्ती र पाठहरुलाई मूल्यांकन गर्ने अनुमान केही विश्लेषकहरुले गरेका छन्।
यो नयाँ संकल्प पार्टीको २० औँ कंग्रेसभन्दा करिब एक वर्षअघि आउनेछ। २०२२ को शरदमा हुने कंग्रेसमा सीले विद्यमान दुई कार्यकालको व्यवस्था अन्त्य गर्दै तेस्रो कार्यकाल पार्टी प्रमुख बन्न खोज्ने अपेक्षा गरिएको छ।
अहिलेसम्म पार्टी नेतृत्वले सो दस्तावेजको मस्यौदालाई अत्यन्त गोप्य राखेको छ। अर्को महिनाको सुरुमा हुने केन्द्रीय कमिटीको वार्षिक बैठकअघि त्यसको पूर्णपाठ सार्वजनिक हुने सम्भावना पनि छैन।
गत साता सोमबार जारी गरिएको आधिकारिक वक्तव्यअनुसार सीको अध्यक्षतामा पार्टी नेतृत्वको बैठक बस्यो। जसमा ‘पार्टीको एक सय वर्षका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवबारे एक संकल्प’ नामक दस्तावेजको मस्यौदाबारे छलफल भयो। सो मस्यौदालाई आगामी पूर्ण बैठकमा अनुमोदनका लागि पेस गर्ने निर्णय पनि भयो।
सिन्ह्वाका अनुसार हालै सीले पार्टीमा संलग्न नरहेका राजनीतिक तथा व्यावसायिक व्यक्तित्वहरुसँगको गोष्ठी आयोजना गरेका थिए। नेताहरुले स्थानीय सरकार र केन्द्र सरकारका विभागहरुबाट चुनिएका अधिकारीहरुको विचार पनि बुझेका थिए। ती सबैले नयाँ संकल्पलाई समर्थन गरेका छन्।
वक्तव्यमा दस्तावेजबारे विस्तृत विवरण दिइएको छैन। तर, वक्तव्यको भाषा र शब्दचयनका आधारमा केही विश्लेषकहरुले तेस्रो संकल्प सी–युगका बारेमा भविष्यमुखी हुने अनुमान गरेका छन्। जबकि यसअघिका दुई संकल्प मुख्यगरी विगतका गल्तीमा केन्द्रित थिए।
वक्तव्यमा पार्टीले माओ, देङ, जियाङ जमिन र हु जिन्ताओको नेतृत्वमा क्रान्तिमा महत्वपूर्ण प्रगति हासिल गरेको, निर्माण र सुधार सम्पन्न गरेको र अनमोल अनुभव प्राप्त गरेको जनाइएको छ।
सीको नेतृत्वमा पार्टीले नयाँ उपलब्धि हासिल गरेको र नयाँ अनुभव प्राप्त गरेको वक्तव्यमा उल्लेख छ।
त्यस्तै, वक्तव्यमा पार्टी, सेना र जनताबीच हालसम्मकै बलियो एकता कायम भएको, चीनको अन्तर्राष्ट्रिय हैसियत अझ सुदृढ भएको र चिनियाँ विशेषतासहितको समाजवाद सफल हुँदै गएको उल्लेख छ।
राष्ट्रिय कायाकल्प इतिहासको अपरिहार्य आवश्यकता बनेको वक्तव्यमा बताइएको छ। किनभने माओको शासनले चिनियाँ जनतालाई आफ्नो खुट्टामा खडा हुन सिकायो, देङको शासनले उनीहरुलाई धनी हुन सहयोग गर्यो र सीको शासनले मुलुकलाई शक्तिशाली बनाउनेछ।
नयाँ संकल्पमा यी कुराले प्रमुखता पाउने सम्भावना छ। जसले सीको दृष्टिकोण र विचारलाई सैद्धान्तिक आधार प्रदान गर्नेछ र अनुमोदनमा सहयोग पनि गर्नेछ।
सीका समर्थकहरुले लामो समयदेखि तर्क गर्दै आएका छन्– चीनलाई गएको शताब्दीमा देखिएको भन्दा तीव्र गतिमा अघि बढाउन सीजस्तै निरंकुश र शक्तिशाली नेतृत्व आवश्यक छ।
अन्तर्राष्ट्रिय रुपमा चीन अमेरिका र उसका पश्चिमा सहयोगीहरुसँग विश्वव्यापी प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको छ। घरेलु रुपमा चीन आर्थिक वृद्धिको गुणस्तरप्रधान मोडेल अपनाउन संघर्षरत छ।
२०१२ को अन्त्यमा सत्तामा आएयता सीले तीव्र गतिमा आफ्नो शक्ति सुदृढीकरण गरे। उनले त्यो काम एक हदसम्म अभूतपूर्व भ्रष्टाचारविरोधी अभियानबाट गरे भने २०१६ मा ‘केन्द्रीय नेता’ को पदवी प्राप्त गरेपछि पार्टीमा उनको सत्ता स्थापित भयो।
त्यसपछि उनले पार्टीको घोषणापत्र र राज्यको संविधान संशोधन गरेर राष्ट्रपति पदमा दुई कार्यकालको सीमालाई अन्त्य गरे। यसबाट चाहेको बेलासम्म शासन गर्ने चाहना उनले प्रकट गरे।
त्यस्तै, ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचार’ समावेश गर्न पनि पार्टी र राज्य दुवैको विधान संशोधन गरियो। यो उनको राजनीतिक हैसियतको स्पष्ट संकेत थियो। त्यसयता उनलाई माओ र देङकै हाराहारीमा चीनको सबैभन्दा शक्तिशाली नेताको रुपमा चर्चा गरिँदै आएको छ।
चिनियाँ नेताहरु व्यवहारिक छन्। चिनियाँ कम्युनिस्ट पार्टी पहिले कुनै काम गर्छ, त्यसपछि त्यसलाई उचित ठहर्याउन सिद्धान्त अघि सार्छ। यही चुस्ती र अनुकूलन क्षमताका कारण पार्टी प्रतिकूलतामा पनि टिक्न र मौलाउन सक्षम हुँदै आएको छ।
माओजस्तै महान नेताको हैसियत प्राप्त गर्न सैद्धान्तिक आधार र अनुमोदन सीका लागि अत्यन्त महत्वपूर्ण छ। त्यसैकारण तेस्रो संकल्प उनलाई आवश्यक परेको हो।
यो संकल्प मुख्यगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपलब्धि र सी युगलाई आधार प्रदान गर्नमा केन्द्रित हुने सम्भावना अत्यधिक छ। तर, गत सय वर्षका गल्ती र पाठसम्बन्धी कुनै नयाँ मूल्यांकन अघि सार्ने सम्भावना भने छैन।
यसको सम्भावित अर्थ के हो भने पार्टी इतिहासको सबैभन्दा ठूलो अनिश्चितता अर्थात् नेतृत्वको उत्तराधिकारलाई सम्बोधन गर्ने सम्भावना निकै कम छ।
१९२१ मा पार्टी स्थापना भएदेखि नै शक्तिको शान्तिपूर्ण हस्तान्तरण द्वन्द्व र अस्थिरताको मुख्य स्रोत बन्दै आएको छ। १९४५ मा पहिलो संकल्पले माओको नेतृत्वलाई सुदृढ नगर्दासम्म शक्ति हस्तान्तरण भनेकै धोका र निष्कासनजस्तो थियो।
१९४९ मा जनवादी गणतन्त्र स्थापना भएयता नेतृत्वका लागि स्थिर र भयंकर संघर्ष चल्दै आएको छ। माओको पहिलो उत्तराधिकारी तोकिएका ल्यु साओचीलाई निष्कासन गरियो। उनको कैद अवस्थामै १९६९ मा मृत्यु भयो। माओले चुनेका अर्का उत्तराधिकारी लिन प्यायो १९७१ मा चीन छाडेर भाग्दै गर्दा मंगोलियामा रहस्यमयी विमान दुर्घटनामा मारिए।
माओले रोजेका अन्तिम उत्तराधिकारी हुवा कुओफेङलाई १९७० को दशकमा देङले किनारा लगाइदिए। १९८० को दशकमा देङले आफैँले छनोट गरेका दुई उत्तराधिकारीहरु हु याओपाङ र चाओ चियाङको सघन आन्तरिक संघर्षका कारण पतन भयो।
जनवादी गणतन्त्र स्थापना भएपछिको पार्टीको पहिलो शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरण २००२ को अन्त्यमा मात्रै भयो। त्यसबेला जियाङ जमिनले हु जिन्ताओलाई शक्ति हस्तान्तरण गरे। जियाङ देङले रोजेका अन्तिम उत्तराधिकारी थिए। उनी १९८९ को तियानमेन चोक दमनपछि शक्तिमा उदाएका थिए। जियाङले सुरुमा दुई ओटा पद मात्र हुलाई हस्तान्तरण गरेः पार्टीको महासचिव र राष्ट्रपति। २००४ मा पुगेर मात्रै जियाङले अन्तिम तर सबैभन्दा महत्वपूर्ण पद– केन्द्रीय सैन्य आयोगको अध्यक्ष– त्याग गरे। अन्ततः हुले सो पद लिए।
२०१२ र २०१३ मा हुले दुई कार्यकालको सीमा अनुपालन गरे र सीका लागि ठाउँ खाली गरेर अवकाश लिए। २००७ मै पार्टीको पोलिटब्युरोमा प्रवेश गरेपछि सीलाई धेरैले हुको उत्तराधिकारी मान्न थालेका थिए। २००८ मा उनी उपराष्ट्रपति बने। २०१० मा सैन्य आयोगको उपाध्यक्ष पनि बने। जसका कारण उनले तयारीका लागि पाँच वर्ष समय पाए।
शीर्ष नेताका रुपमा सी २०२२ मा तेस्रो र सम्भवतः २०२७ मा चौथो कार्यकाल पनि पदमा रहन खोज्नेछन्। त्यसैले उनका सम्भावित उत्तराधिकारी अर्को वर्ष छानिने छैनन्।
पार्टीको गुप्त राजनीति र यो विषयको संवेदनशीलतालाई हेर्दा चीनको नेतृत्वको उत्तराधिकार योजनासम्बन्धी ऐतिहासिक संकल्प आगामी कयौँ वर्षसम्म अस्पष्ट रहनसक्छ।
(साउथ चाइना मर्निङ पोस्टबाट। वाङ सियाङवेइ २०१२–१५ पोस्टका प्रधानसम्पादक थिए)
फेसबुक प्रतिक्रियाहरु