चितवन ।
चितवन जिल्ला क्रिकेट संघको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनामा भएको चितवनकै पहिलो ‘एक्सपर्ट क्रिक क्वीज–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ ।
एक्सपर्ट बेस क्याम्प भरतपुरमा आज (शुक्रबार) भएको फाइनलमा तीन विद्यालयलाई पछि पार्दै वाल्मीकिले उपाधि उचालेको हो । उपाधिसंगै वाल्मीकिले नगद २० हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल, प्रमाण पत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त गर्यो ।
उपविजेतामा सिमित बनेको अरोमा इङलिस स्कुल भरतपुरले नगद १० हजार, आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त ग¥यो । विजेता तथा उपविजेताहरुलाई नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुली, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका रिजनल म्यानेजर किरण पौडेल ‘नरहरी’ले पुरस्कार प्रदान गरे । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा अर्बिट इङलिस स्कुल र नारायणी इङलिस पब्लिक स्कुल क्रमशः तेस्रो र अन्तिम स्थानमा रहे । उनीहरुलाई वीआइडीको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुईदिन सम्म चलेको प्रतियोगितामा चितवनका १५ विद्यालयको सहभागिता रहेको थियो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले विद्यार्थीहरुलाई क्रिकेट सम्बन्धी थप ज्ञान बढाउन यो क्वीज महत्वपूर्ण सावित भएको बताए । उनले आगामि दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान हासिल गर्न यो कार्यक्रम महत्वपूर्ण सावित भएको बताए । उनले क्रिकेट संघसंग सहकार्य गरेर अघि बढ्ने बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले पछिल्लो समय नेपालमा क्रिकेट क्रेज बढ्दै गएको अवस्थामा यो प्रतियोगिता महत्वपूर्ण सावित भएको बताए । यस प्रतियोगिताको बिहीबार जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीले समुद्घाटन गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु