चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आयोजक चितवन भेटेरान निलोले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितको उद्घाटन खेलमा चितवन निलोले सिमरा भेटेरान सिमरालाई पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा चितवन निलो १–० ले विजयी भयो । चितवनको जितमा राजकुमार गुरुङले निर्णायक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २३ औं मिनेटमा चितवनका राजकुमारले गोल गरे । उक्त गोल नै चितवनको जितमा पर्याप्त भयो । उनी नै म्यान अफ दि म्याच चुनिए । यो जितसँगै चितवन निलोले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगितामा आइतबार चार खेल हुनेछ । पहिलो खेलमा बिहान ११ बजे अभिषेक चर्च रजहर र बर्घाट भेटेरान नवलपरासी भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेटेरान क्लब र चाबेल भेटेरान तथा तेस्रो खेलमा दिउँसो २ः३० बजे साबिक विजेता फ्रिडम फाइटर ठमेल र भुपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्नेछन् । चौथो तथा अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो र भनी मण्डल भेटेरान भिड्नेछन् ।
चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु