काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्वतन्त्र रूपमा भरतपुर महानगरपालिकाको प्रमुख पदका उमेदवार रहेका जगन्नाथ पौडेलमा धैर्य नभएको बताएका छन् । पौडेलमा आफूले क्षणिक उत्तेजना मात्र पाएको उनको भनाइ छ ।
बिहीबार चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पौडेलले संवाद गर्न नचाहेको आरोप लगाए । नेता पौडेलले बिहान आफूले कुरा गर्न खोजे पनि जगन्नाथले तर्क सुन्न नचाहेको बताए ।
विज्ञापन
विज्ञापन
“आज बिहान मात्र कृष्णलालजी, भीमबहादुरजी र जगन्नाथ पौडेलजीसँग संवाद गर्न चाहेँ, केही कुराहरू राख्न सुरु गरेँ,” उनले भने, “बसेर राम्रोसँग कुरा गरौँ भनेँ । तर, उहाँहरूले धैर्य राख्न सक्नु भएन । चाँडै जान खोज्नुभयो । मैले दिएको तर्कलाई समाना गर्न तयार हुनु भएन । उत्तेजनामा मात्र उहाँहरूले असन्तुष्टि व्यक्त गरेको मैले पाएँ ।”
नेता पौडेलले आफूले नेकपा (माओवादी केन्द्र) र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको प्रतिस्पर्धी नभएको बुझाउन चाहे पनि उनीहरूले कुरै सुन्न नचाहेको बताए । उनले आफूलाई सभापति शेरबहादुर देउवासँग मिल्न गएको आरोप लाग्ने भए पनि देउवाभन्दा पहिले आफू गठबन्धनको पक्षमा उभिएको जिकिर गरे ।
चितवनका नेता जगन्नाथ पौडेल स्वतन्त्र रूपमा मेयरको उमेदवार छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । गठबन्धन गरेर केन्द्रले चितवन पुनः माओवादीलाई छोडेसँगै उनी प्रमुख पदमा स्वतन्त्र उठेका हुन् । तर, घरदैलो कार्यक्रम भने कांग्रेसको झन्डा बोकेर गरिरहेका छन् ।
उनको उमेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि कांग्रेस केन्द्रीय नेताहरू शंकर भण्डारीलगायत सक्रिय भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु