आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरका बागी पछि नहट्ने, कारबाही गर्ने कांग्रेसको तयारी
समाचार

भरतपुरका बागी पछि नहट्ने, कारबाही गर्ने कांग्रेसको तयारी

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल पछि नहट्ने भएका छन्।

गठबन्धनका नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले दबाब दिँदा पनि उनी पछि नहट्ने निर्णयमा पुगेका हुन्।

विज्ञापन

पौडेलको यो निर्णयसँगै दुई दिनदेखि उनलाई फकाउन भरतपुरमा रहेका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार काठमाडौं फर्किँदैछन्।

विज्ञापन

दुई मन्त्रीलाई देउवाले पौडेलको उम्मेदवारी फिर्ता गराउन भरतपुर पठाएका थिए। त्यसअघि मंगलबार भरतपुर पुगेर माओवादी अध्यक्ष प्रचण्डले पनि पौडेलको उम्मेदवारी फिर्ताबारे छलफल गरेका थिए।

तर शीर्ष नेता र दुई मन्त्रीको आग्रहलाई अस्वीकार गर्दै पौडेलले अडान नछाडेपछि उनलाई पार्टीबाटै निकाल्ने तयारी कांग्रेसले गरेको हो।

माओवादीलाई दोस्रो पटक पनि मेयर दिने भएपछि चितवन कांग्रेस कार्यकर्ता रिसाएका छन्। पौडेलले पनि तिनै असन्तुष्ट कार्यकर्ताको साथ लिएर बागी उम्मेदवारी दिएका थिए।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले शुक्रबार ५ बजेसम्म अडान काय राखे पार्टीबाट निष्काशित हुने छन्।

पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आग्रह अटेर गर्दै उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन्। देउवाले उनलाई काठमाडौं आउन भनेका थिए। तर उनले आफूलाई फुर्सद नभएको जवाफ दिए।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार बेलुकी ५ बजेभित्र विद्रोही उम्मेदवारले मनोनयन फिर्ता नलिए पार्टीबाट निष्काशन हुने चेतावनी दिएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेसले शुक्रबार बिहान निकालेको विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिअनुसार ‘बागी’ उम्मेदवार पौडेलका प्रस्ताव कृष्णलाल सापकोटा र मीना खरेल पनि पार्टीबाट स्वतः निष्काशित हुने भएका छन्। ८४ वर्षीय सापकोटा पौडेलका प्रस्तावक र खरेल समर्थक हुन्।

कांग्रेस चितवनका पूर्वसभापति सापकोटा जिल्लाका पुराना नेता हुन् भने खरेल सामाजिक अभियन्ताका रुपमा परिचित छन्।

भरतपुर महानगरमा गठबन्धनका साझा उम्मेदवार दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका पौडेल नगरपालिका हुँदा उपप्रमुख भइसकेका व्यक्ति हुन्। उनी पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।नेपाल खबर

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस