नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा आयोजित सभामा एमालेकै एक नेतालाई पार्टी प्रवेश गराएका छन्।
शनिबार सदरमुकाम मलंगवामा एमाले सर्लाहीले आयोजना गरेको सभामा ओलीले एमालेकै नेता केशव ढुंगानालाई पार्टीमा प्रवेश गराएका हुन्।
विज्ञापन
सभामा ढुंगानालाई माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भन्दै एमाले प्रवेश गरेको घोषणा गरिएको थियो। त्यस क्रममा अबिर र माला लगाउँदै ओलीले ढुंगानालाई पार्टीमा स्वागत गरेका थिए।
विज्ञापन
दुई कार्यकाल एमालेको सर्लाही जिल्ला सचिव भएर पार्टी हाँकेका ढुंगाना २०६४ सालको संविधान सभा निर्वाचनपछि एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
सुरुमा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका ढुंगाना पछि माओवादीको पोलिटव्युरो सदस्य समेत बनेका थिए।
ढुंगाना एमाले र माओवादीबीच एकता हनुअघिसम्म माओवादी केन्द्रको पोलिटव्युरो सदस्य थिए। दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि ढुंगाना पद घटुवामा परेका नेता हुन्। नेकपामा उनको पोजिसन प्रदेश कमिटी सदस्य मात्रै थियो।
एमाले र माओवादी केन्द्र अलगअलग भएपछि ढुंगाना एमालेमा क्रियाशील भएका थिए। एक वर्षअघि नै एमाले बनेका ढुंगानाले यस बीचमा दर्जनौपटक ओलीलाई भेटिसकेका थिए।
शनिबार ओलीले तिनै ढुंगानालाई माओवादीका पोलिटव्युरो सदस्य भन्दै पार्टी प्रवेश गराएका हुन्।
माओवादी केन्द्र सर्लाहीले भने यसलाई एमालेको ‘प्रपोगाण्डा राजनीति’ भन्दै व्यंग्य गरेको छ।
‘उहाँ एक वर्षअघि नै एमाले बन्नु भएको होे, हिजो फेरि एमालेमा प्रवेश गर्नु भएको सुन्दा अनौठो लाग्यो,’ माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेले भने, ‘उहाँ एमालेसँग पार्टी एकता हुनुअघिसम्म मात्रै माओवादीको पोलिटव्युरो सदस्य हो। नेकपा बनेपछि प्रदेश कमिटी सदस्य हुनुभयो। पछि दुई पार्टीलाई अदालतले अलगअलत गरेदेखि नै एमाले बन्नु भएको हो।’
नेता ढुंगानाले पनि एक वर्षअघि देखि नै आफू एमालेमा क्रियाशील भएको स्वीकार गरे। ‘हिजो त ‘बिरालो बाँधेर श्राद्ध गरे जस्तो’ मात्रै हो,’ नेता ढुंगानाले भने, ‘मैले एमाले बनेको घोषणा एक वर्षअघि नै गरिसकेको थिएँ। साथीहरुले प्रवेश गर्नुपर्छ भनेपछि अध्यक्ष ओलीको हातबाट टीका लगाएको मात्रै हो।’
एमालेसँग एकता गर्दा आफूलाई नेकपाको केन्द्रीय समितिमा नराखेको भन्दै ढुंगाना प्रचण्डसँग रुष्ट थिए। ‘प्रचण्डले त्यतिबेला देखि नै मलाई छाडेका हुन्। बागमतीको मेयर बनेपछि भरत थापाले पनि छाडे,’ उनले भने, ‘त्यतिबेलादेखि नै मलाई माओवादीप्रति मन मरेको हो। दुई पार्टी एक भएपछि मलाई नेकपाको प्रदेश कमिटीमा राखिएको थियो। त्यो कमिटी डम्पिङ साइट न थियो।’
उनले ओलीले छिट्टै आफूलाई एमालेको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएको सुनाए। ‘अध्यक्ष ओलीलाई काठमाडौँमा भेटर पनि कुरा गरेको छु। उहाँले छिट्टै एमालेको केन्द्रीय सदस्य बनाउने आश्वासन दिनु भएको छ,’ ढुंगानाले भने, ‘अब केही समयपछि नै एमालेको केन्द्रीय सदस्य बन्छु होला।’
फेसबुक प्रतिक्रियाहरु