एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत्र हालीमुहाली गरेका राजेन्द्र खड्गीले आफ्नो करिअरमा दुई सयभन्दा बढी फिल्ममा अभिनयसँगै द्वन्द्व निर्देशकको रुपमा काम गरे । तर, विगत ७/८ वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् । करिअरको उचाइँमा रहँँदा केही फिल्मको निर्माण तथा निर्देशक समेत गरेका खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् ।
उनले ‘सेभेन भिलेन’ नाममा फिल्म बनाउन लागेका हुन् । बैशाख अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मको निर्देशनको जिम्मेवारी शोभित बस्नेतले पाएका छन् । सात जना भिलेनको कथामा निर्माण हुने फिल्ममा दर्शकले भिलेनको चरित्रमा रुचाएका कलाकारहरुको अभिनय रहने निर्देशक बस्नेतले जानकारी दिए । फिल्मका लागि केही कलाकारहरु फाइनल भइसकेका छन् ।
विज्ञापन
फिल्ममा भिलेनको भूमिकाका लागि राजेन्द्र खड्गी, सुनील थापा, डिनेश डिसी, सम्राट सापकोटा फाइनल भएका छन् भने बाँकी तीन जना कलाकार केही दिनमा छनोट हुने निर्देशक बस्नेतले बताए । फिल्ममा हिरोको रुपमा एक जना चर्चित नायकको पनि अभिनय रहने उनले जानकारी दिए । एक्सन जनरामा निर्माण हुने फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ ।
विज्ञापन
‘सेभेन भिलेन’भन्दा अगाडि निर्देशक बस्नेत ‘हाम्रो स्वर्ग’ नामक फिल्मको पहिलो सेड्युलको छायांकन सक्ने तयारीमा छन् । उनले भने, ‘यो फिल्मको दुई सेड्युलमा छायांकन हुन्छ । पहिलो सेड्युलमा लाली गुराँस फूल्ने सिजनको सिन खिचेपछि दोस्रो सेड्युलको छायांकन भने यार्सागुम्बा टिप्ने सिजनमा गर्नेछौं । पहिलो सेड्युलपछि ‘सेभेन भिलेन’को छायांकन सुरु गर्ने योजना बनाएको छु ।’
फेसबुक प्रतिक्रियाहरु