काठमाडौं । अहिलेको गठबन्धन सरकारमा रहेका मन्त्रीहरुले उत्कृष्ट र जनपक्षीय काम गर्न नसकेपछि प्रधानमन्त्री शेरवहादुर देउवा र कांग्रेसमा आफ्नो दलबाट मन्त्री बनेकाहरूप्रति आक्रोश देखिन लागेको छ । पश्चिमा मुलुकमा पढेर आएका, कुनै बेला योजना आयोगको उपाध्यक्षसमेत भइसकेका नेता डा. नारायण खड्कादेखि प्रजातान्त्रिक र महिला आन्दोलनमा अग्रपंक्तिमा उभिएकी उमा रेग्मीसम्मको कार्यसम्पादन र भूमिकामाथि कांग्रेसभित्र प्रश्न उठ्न थालेको स्रोतको भनाइ छ । स्रोतका अनुसार, यी दुई मन्त्रीमात्र होइन, गृहमन्त्री बालकृष्ण खाणको भूमिका पनि विवादास्पद हुन थालेको आरोप लागेको छ ।
विज्ञापन
यद्यपि, खाण र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको धेरै विश्वास भएका कारण अरुले बोल्न सकेका छैनन् । चीनसँगको सीमा विवाद निकाल्नका लागि मन्त्री खाणले अनावश्यक रुपमा अध्ययन समिति बनाएको भन्दै छिमेकीसँग सम्बन्ध विगारेको आरोप छ ।
विज्ञापन
मन्त्री खाणले समिति बनाउनुभन्दा पहिले परराष्ट्र मन्त्रालयले एउटा छानविन समिति बनाएको थियो उक्त टोलीले सीमा विवाद नभएको प्रतिवेदन दिएको थियो । तर, गृह मन्त्रालयको टोलीको प्रतिवेदनले भने सीमा विवाद भएको निष्कर्ष निकालेको थियो ।
यी दुई फरक घटनाका कारण कांग्रेसभित्र विवाद बढेको छ । अर्कोतिर परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवाको अपेक्षा अनुसार काम नै गर्न नसकेको र आफ्नो निर्वाचन क्षेत्र उदयपुरमात्रै घुम्ने तर परराष्ट्र मन्त्रालयलाई समय नै नदिने आरोप खड्का माथि लागेको छ ।
उक्त आरोपको खण्डन हुने गरी काम नै गर्न नसकेका खड्कालाई आरजु राणाको सल्लाहमा परारष्ट्र मन्त्री बनाइएको चर्चा थियो । तर, अहिले प्रधानमन्त्री देउवा भने खड्काको कार्य सम्पादन र भूमिकाबाट असन्तुष्ट रहेको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउछ ।
यता, महिला मन्त्री रेग्मीको कार्यसम्पादन र भूमिका पनि विवादास्पदमात्रै देखिएको छ । आफ्नै बुहारीलाई समाज कल्याण परिषद्मा नियुक्ति दिलाउनेदेखि छोरालाई सल्लाहकार बनाउनेसम्मको भूमिका सक्रिय भएपछि रेग्मीसँग प्रधानमन्त्री देउवा रुष्ट रहेको बताईन्छ ।
यता, प्रकाशनमान सिंह र सुजाता कोइरालाबीच कुरा नमिल्दा रिक्त दुईवटा मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । सिंह र कोइराला दुवैले सरकारमा जाने इच्छा राखेका छन् । तर, दुईमध्ये एकजनालाई मात्रै मन्त्री बनाउने पक्षमा देउवा देखिएपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयले मन्त्री पाएका छैनन् । स्थानीय चुनाव अघि नया“ मन्त्री नियुक्ति गर्ने र मन्त्रालय हेरफेर गर्ने मूडमा देउवा नदेखिएका कारण तत्काल मन्त्री नियुक्ति हुने संभावना भने कम रहेको बताइन्छ ।
फेसबुक प्रतिक्रियाहरु