काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन देशको भविष्यसँग जोडिएको बताएका छन्। मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय निर्वाचन पार्टीका लागि जीवनमरणको विषय भएको पनि बताए। पार्टी र देशलाई जोगाउन कडा परिश्रम गर्नुपर्ने बेलामा गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न पनि नेता कार्यकर्तालाई उनले निर्देशन दिए।
‘यो निर्वाचन अरूको लागि चुनाव हाम्रो लागी जीवनमरणको विषय हो। हामी हार्दा देश हार्छ। अरू हार्दा देश जित्छ,’ प्रचण्डले भने, ‘गठबन्धनको आश गरेर रिल्याक्स नगर्नुस्। आफ्नो खुट्टा बलियो बनाउनुस्।’ नेपाली क्रान्तिका लागि मधेसको भूमि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले समाजवादी क्रान्तिको अगुवाइ पनि मधेसले नै गर्ने बताए। उनले संविधानसभाको दोस्रो निर्वाचनमा मधेसले पार्टीलाई दिएको साथको पनि चर्चा गरे।
विज्ञापन
प्रचण्डले तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिष्टले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको बताए। ‘नेपाली क्रान्तिमा मधेसको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको। २०७० को निर्वाचनमा मधेसले हाम्रो पार र नेतृत्वलाई कसरी साथ दियो। मैले गहिरो ढंगले बुझेको छु,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा २ पटक मधेसी जनताको भावना अनुसार संशोधन प्रस्ताव दर्ता गरे, तर एमालेले त्यसलाई असफल पर्यो। नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ। तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिष्टले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ।’
विज्ञापन
त्यस्तै उनले मधेसका युवालाई भाँडभैलो गर्न खोज्नेलाई इटको जवाफ पत्थरले दिन पनि भनेका छन्। डेढ-दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने उनले बताए। अध्यक्ष प्रचण्डले देशमा आएका सबै संकट मोचन गर्न माओवादी केन्द्रले पहलकदमी लिएको स्मरण गरे। उनले माओवादी केन्द्रको नेतृत्वमा भएका परिवर्तनहरूबारे जनतालाई स्पष्ट गराउन आवश्यक रहेको बताए। उनले आगामी दिनमा संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि देशको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए।
प्रचण्डले भने, ‘देशमा आएका सबै संकट मोचन गर्न माओवादी केन्द्रले पहलकदमी लिएको छ। शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन, संविधान घोषण र संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन आरम्भ गर्न आवश्यक राष्ट्रिय एकता कायम गर्ने र आर्थिक विकासमा नयाँ आत्मविश्वास कायम हुने गरी ७.५% आर्थिक वृद्धि हाम्रो पालामा भएको हो। साराका सारा जनताका वर्गहरू गरिब किसान, मजदुर, भूमिहीन, महिला, दलित, जनजाति, हिमाली आदिवासी, सीमान्तकृत समुदाय सबै सबैलाई समावेशी र समानुपातिक प्रतिनिधित्व माओवादीको कारण भएको हो। यो कुरा जनताको बीचमा स्पष्ट गरौं। र आगामी दिनमा संविधानको कार्यान्वयन र आर्थिक विकासमार्फत समाजवादको ढोका खोल्ने काम माओवादीले गर्नुपर्छ।’
उनले प्रतिपक्षी दल नेकपा एमालेले विना कुनै आधार संसद अवरुद्ध गरिरहेको बताए। उनले एमालेको उक्त कदमलाई प्रतिगमनको निरन्तरता भएको टिप्पणी गरेका छन्। निर्वाचनमा त्यसबारेमा भण्डाफोर गर्नुपर्ने उनको भनाई छ। प्रचण्डले भने, ‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ। त्यो पनि प्रतिगमनकै निरन्तरता छ। जुन सेटिङमा प्रतिगामीहरूले संसद विघटन गरे त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन्। यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन।’
उनले पार्टी महाधिवेशनबाट नयाँ ढंगबाट क्रान्तिकारी पार्टीको रूपमा माओवादी केन्द्रलाई रूपान्तरण गर्ने विषयमा र विचार, कार्यदिशाको क्षेत्रमा नयाँ ट्र्याक खोल्ने कोसिस भएको बताए।
फेसबुक प्रतिक्रियाहरु