बाग्लुङ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’
विज्ञापन
यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई मन्त्री पाैडेलले निर्देशन दिनुभयो ।
विज्ञापन
गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी काम अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो । जिल्लामा झाेलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई मन्त्री शर्माले निर्देशन दिनुभयो ।
आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन मन्त्री पाैडेलले आग्रह गर्नुभयो । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै उहाँले रणनीतिक योजनाहरू, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने हाे त्याे लिपिबद्ध गरी टिपाउन निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको बताउनुभयो । लागुऔषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उहाँले सुनाउनुभयो ।
जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु