काठमाडौं ।
एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गरेका छन् ।
विज्ञापन
एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ । अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् ।
विज्ञापन
स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ । जेठ ५ गतेअघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न ओलीले दबाब दिने भएका छन् । चुनावको मिति घोषणा गर्न सत्ता गठबन्बाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकहरूलाई समेत दबाबमा पार्न खोजेका छन् ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताएका छन् । विशेष गरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दा र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले समर्थन नगरे गठबन्धन तोडिन सक्नेतर्फ संकेत गरेका हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता विश्वकर्माले गठबन्धनले जुन एजेन्डाका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाएको हो, सोही मुद्दाबाट पर भाग्न खोजेपछि गठबन्धनमा रहिरहनुको अर्थ नभएको बताए ।
फेसबुक प्रतिक्रियाहरु