चितवन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने बताएका छन्। शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने उनको भनाइ छ।
विज्ञापन
‘हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैंठकमा लैजान्छौं,’ मन्त्री पौडेलले भने। जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ। कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ। सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ।
विज्ञापन
सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ। क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए। अस्पताल परिसरमा कुरुवा घर समेत बनाइने छ। महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन्।
महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो। महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो। -रासस
फेसबुक प्रतिक्रियाहरु