नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले गठबन्धनका लागि माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचन नै अन्तिम मौका भएको बताएका छन्।
राष्ट्रियसभाका लागि सातै प्रदेशमा मंगलबार मनोनयन दर्ता भइसकेपछि नेता रिजालले गठबन्धनलाई एमालेविरुद्ध घेराबन्दी गर्ने यही अन्तिम मौका रहेको पनि बताए।
विज्ञापन
‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो। अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा एमालेलाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन्’, उनले भनेका छन्, ‘अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ।’
विज्ञापन
रिजालले दलको परीक्षण जनमतले गर्ने बताउँदै त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनबाट हुने पनि उल्लेख गरेका छन्।
‘दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ’, गृहजिल्ला दैलेख पुगेका उनले भनेका छन्, ‘बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन। अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि एमालेलाई फरक पर्दैन। किनभने सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ।’
फेसबुक प्रतिक्रियाहरु