सुनसरी ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यु केपी बा’ भनिरहेको बताउनुभएको छ । आज आइतवार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववीयू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै उहाँले मूर्तिलाई नढोग्नेहरूले आई लभ यु केपी बा भनिरहेको बताउनुभएको हो ।
विज्ञापन
उहाँले भन्नुभयाे, ‘मूर्तिलाई नढोग्नेहरू आई लभ यु केपी बा भनिरहेका छन्, व्यक्तिको देवत्वकरण भइसकेपछि यो व्यक्तिले आफूलाई देवता ठान्दछ । आजको व्यवहारले त्यो कुरा पुष्टि गरेको छ । दम्भी मान्छे, निरङ्कुश चरित्रको मान्छे कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ । पार्टीमा गइसकेपछि त्यो पार्टी गुटमा परिणत भयो । केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो ।’
विज्ञापन
अध्यक्ष नेपालले ओली १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र चिन्तनहरू, आफ्नो विचार, धारणा राख्न चाहनेहरू, पार्टीको भलाइ सोच्नेहरू, समाजको परिवर्तनमा जुट्नेहरू, नेपालकाे गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको त्यहाँ कुनै मूल्य रहेन । किनभने ओली सुन्ने खालका मान्छे नै होइनन् । म जस्तो मान्छेको कुरा नसुन्ने मान्छेले तपाईँहरूको कुरा सुन्ला ? १५ वर्ष मैले पार्टी हाँके महासचिव भएर, १५ वर्षसम्म मेरो मातहतमा बसे केपी ओली, मेरो कुरा त उनले टेरेनन् भने अरूको कुरा कसरी सुनुन् । बैठक बोलाइदिनुहोस् भन्ने निवेदन लिएर जाँदा उनले निवेदनमा तोक लगाइदिन्छु भने । निवेदनमा तोक लाग्छ, यो सरकारी काम हो ?’
फेसबुक प्रतिक्रियाहरु