काठमाडौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । आज बिहीवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरेका हुन् ।
विज्ञापन
उनले एमालेको क्रान्तिकारी धार नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क गरे । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताए।
विज्ञापन
उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने त्यो पार्टी पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको अब केही काम छैन ।’
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र देशलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको बताए। उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए।
फेसबुक प्रतिक्रियाहरु