काठमाण्डौ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताउनुभएको छ । हस्तकला स्वर्ण महोत्सव तथा दशौँ हस्तकला दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली हस्तकलाका वस्तुहरूले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि बताउनुभयाे ।
विज्ञापन
उपराष्ट्रपति पुनले नेपालको गरिबी न्यूनीकरण गर्न, रोजगारीको अवसर सृजना गर्न हस्तकला क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको प्रवर्द्धनकाे कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपाली हस्तकलाका वस्तुहरूको युरोप, अमेरिकाजस्ता विकसित देशमा माग बढ्नु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुखद् विषय भएको पनि उहाँकाे भनाइ छ ।
विज्ञापन
उपराष्ट्रपति पुनले भन्नुभयो, ‘हस्तकला नेपालकै मौलिकपनको चिनारी हो । नेपाली कलाकारहरूको सीप र कला हो । हस्तकला राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा पनि हो । हस्तकला हाम्रो देशको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र हो र हस्तकला लाखौँलाख नेपालीको रोजगारीको क्षेत्र पनि हो । विशेषगरी महिलाहरूलाई उद्यमी र आर्थिक रूपमा सबल बनाउने क्षेत्र हो । गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेकाे क्षेत्र पनि हो । यी सबै कारण हस्तकला राज्यको उच्च प्राथमिकताको क्षेत्र पनि हो ।’
कार्यक्रममा बोल्दै महोत्सवका संयोजक रविन्द्र शाक्यले हस्तकला क्षेत्र हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हस्तकला क्षेत्रबारे बुझ्ने र सुन्ने कुनै पनि निकाय नभएको भन्दै तीन वटै तहको सरकारले यसलाई हेर्ने गरी छुट्टै मन्त्रालय स्थापना गर्नेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो ।
संयोजक शाक्यले हस्तकला क्षेत्रको विकासका लागि सरकारले कच्चा पदार्थको निर्यातमा समेत उपयुक्त वातावरण बनाउन नसकेको भनाइ राख्नुभयाे ।
फेसबुक प्रतिक्रियाहरु