बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डसँग एक वर्ष र माधव नेपालसँग पाँच महिनापछि कांग्रेसको मञ्चमा भेट्दै ओली
समाचार

प्रचण्डसँग एक वर्ष र माधव नेपालसँग पाँच महिनापछि कांग्रेसको मञ्चमा भेट्दै ओली

एक वर्षयता तिक्ततापूर्ण सम्बन्ध चलिरहेको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकसाथ एकै मञ्चमा देखिँदैछन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा शुक्रबार सुरु भएको छ। महाधिवेशनको उद्घाटन अहिले चलिरहेको छ।

विज्ञापन

यो उक्त उद्घाटन सत्रमा तिक्ततापूर्ण सम्बन्ध रहेका तीन नेता एक ठाउँ देखिन लागेका हुन्। फागुन २३ मा खारेजीमा परेको नेकपादेखि नै द्वन्द्वमा जोडिएका यी तीन नेतामा नेपाल र दाहालबीच अहिले पनि निकटता छ। उता ओलीसँग भने यी दुई नेताबीच पानी बाराबारको अवस्था छ।

विज्ञापन

नेकपा विभाजित भएपछि ओली र दाहाल अलग अलग पार्टीमा हिँडिसकेका थिए। तर नेकपा खारेज भएपछि ‘घर न घाट’ को अवस्थामा पुगेका नेपालले पनि एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाइसकेका छन्।

दाहाल र नेपालले अहिले पनि ओलीमाथि आक्रामक भाषण दिइरहेका छन्। नेपालले त आफ्नो नयाँ पार्टीले ओलीलाई अबको चुनावमा पत्तासाफ बनाउने बताइरहेका छन्।

अर्कातिर प्रचण्ड पनि पाँच दलीय गठबन्धन बनाएर एमालेलाई कमजोर बनाउने अभियानमा होमिएका छन्। यस्तोमा यही मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको एमालेको महाधिवेशनमा उनी सहभागी भएनन्। अर्थात उनले एमालेको निम्तो बहिष्कार गरेर काभ्रेतिर लागेका थिए।

यी दुई नेताबीचको तितो सम्बन्धबीच ओली पनि कांग्रेसको महाधिवेशन उद्घाटनमा सहभागी हुने भएका छन्। ओलीका प्रेस संयोजक रामशरण बजागाईंले कांग्रेसको निम्तो स्वीकारेर ओली बालकोटबाट भृकुटीमण्डप जाने बताएका छन्।

‘जानु हुन्छ नि, कांग्रेसले दिएको निम्तो नस्वीकार्ने कुरै हुँदैन’, उनले नेपालखबरसँग भने, ‘उहाँ (अध्यक्ष ओली) केही बिरामी हुनुहुन्छ। रुघा लाग्दा उहाँलाई केही समस्या हुने गरेको छ। अहिले केही सुधार भइसकेको छ। त्यसैले कांग्रेसको महाधिवेशन उद्घाटनमा जानुहुन्छ।’

एमालेको महाधिवेशनमा चितवन पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना मन्तव्य दिएका थिए। सत्ता साझेदार प्रचण्ड नगए पनि देउवाले एमालेको महाधिवेशनमा सम्बोधन गरेकाले ओली सहभागी हुन लागेका हुन्।

नेकपा खारेजीमा पर्नुअघि पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता ओली प्रचण्ड संवाद बन्द भएको थियो। त्यसयता ओलीले सीता दाहाल बिरामी हुँदा फोन गरेका थिए। तर उनीहरुबीच भेट भएको थिएन।

ओली–प्रचण्ड बोलचाल हुँदासम्म नेकपा सत्तामा थियो। तर अहिले कांग्रेससहित माओवादी र पाँच दल सत्तामा छन् भने एमाले प्रतिपक्षमा पुगेको छ। यी दलहरु एमालेलाई सिंहदरबारबाट निकालेर पाँच महिनायता सत्ता सहकार्यमा छन्।

उता माधव नेपालसँग ओलीको अन्तिम संवाद गत असारमा भएको थियो। एमालेलाई एक बनाउने विषयमा संवाद भएयता उनीहरु भेटेका छैनन्। तर यी दुईको भेट पनि कांग्रेसको मञ्चमा हुने भएको छ।

कांग्रेससँग सत्ता सहकार्य गरेका प्रचण्ड र नेपाल महाधिवेशनमा नजाने कुरै भएन। ओलीको सहभागिता हुँदै गर्दा पनि यी दलका नेता कांग्रेसको महाधिवेशनमा जाने निश्चित भइसकेको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले महाधिवेशनमा शुभकामना दिने कार्यक्रममा अध्यक्ष सहभागी हुने बताएका छन्।

एकआपसमा शत्रुतापूर्ण सम्बन्ध रहेका यी तीन नेताले कांग्रेसको महाधिवेशनमा गर्ने सम्बोधन पनि चासोको विषय बनेको छ। एमालेविरुद्ध आक्रामक हुने प्रचण्ड र नेपालले कांग्रेस महाधिवेशनमा शुभकामना मात्रै देलान् या राजनीतिक घोचपेच पनि गर्लान्? केही बेरमा थाहा हुनेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस