भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार विगत केही दिनदेखि भरतपुरको न्यूनतम् तापक्रम १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । आज बिहान भरतपुरको न्यूनतम तापक्रम १५ डिग्री सेन्टिग्रेडमा झरेको थियो भने आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्री सेन्टिग्रेड पुगेको छ । शनिबार न्यूनतम तापक्रम १४ डिग्री सेन्टिग्रेड पुगेको थियो । १४ डिग्री चितवनमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन हो । केही दिन अघिसम्म भरतपुरको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेड रेकर्ड भएको थियो ।
विज्ञापन
विज्ञापन
देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।
त्यस्तै, राती देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढेको छ । यद्यपि तत्काललाई पानी पर्ने सम्भावना छैन ।
वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।
फेसबुक प्रतिक्रियाहरु