नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आत्तिएकाहरू आफ्नो पार्टीमा फर्किने बेला भएको बताएका छन्।
मन्त्री खतिवडाले भने ओलीबाट केही पाउँला र खाउँला भनेर बसेकाहरूले पार्टी छोड्ने बेला आएको बताए।
विज्ञापन
‘लम्पसारै परेर दास बनेर आफ्ना सम्पूर्ण स्वाभिमान र इज्जत मर्यादालई त्याग्नेसँग हामीलाई भन्नु केही छैन। केपी शर्मा ओलीबाट केही झर्ला र खाउँला भनेर बसेकाहरू अब फर्किने बेला भयो,’उनले भने,’दास बन्नेहरू लम्पसार भएका छन्। केही २,४ जना अझै पनि स्वाभिमानी भएर बस्न खोजेका छन्। तर उनीहरूलाई त्यहाँ ठाउँ छैन। पतनोन्मुख एमाले र व्यक्तिवादी ओलीबाट सम्भव छैन। त्यसको लागि हाम्रो पार्टीमै आउनुपर्छ।’
विज्ञापन
१० बुँदे र जेठ २ को नाउमा शुतुरमुर्गले बालुवामा टाउको लुकाएजस्तो गरेर केही नेताहरू एमालेमा रहेको उनको आरोप छ।
माधव नेपालले एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललगायत १० स्थायी कमिटी सदस्य एमालेमै रहेका छन्।
पार्टीभित्रको अन्तरसंघर्षका क्रममा माधव नेपालसँग रहे पनि पार्टी विभाजनका क्रममा १० नेताले माधव नेपाललाई साथ दिएका थिएनन्।
१० बुँदे कार्यान्वयन हुने र त्यसले पार्टीभित्रको विवाद समाधान हुने दाबीसहित उनीहरू एमालेमै रहेका थिए।
‘म उहाँहरूको आलोचना गर्न चाहन्नँ। उहाँहरूले देशभरिका जनतालाई बोलाएर काठमाडौंका मञ्चमा उभिएर बोलेका भाषणहरू मिडियालाई दिएका अन्तर्वार्ता सबैले हेरेका छन्। केपी ओलीका कुन-कुन विचार र प्रवृत्तिमा आलोचना गरेर उभिनुभएको थियो भन्ने सबैलाई थाहा छ,’उनले भने,’केपी ओलीले के-के सुधार गरे त! मैले केही सुधार गरेको देखेको छैन। जेठ २ मा फर्किन तयार भए भन्ने कुरालाई उहाँहरूले आधार बनाउनुभएको हो। तर त्यो पनि कार्यान्वयन भएन। बरू केपी ओलीले जथाभावी बोल्दा उहाँहरू कागती निचोरेकोजस्तो अनुहार बनाएर बस्नुभएको छ।’
केपी ओलीले सार्वजनिक मञ्चमा उनीहरूकै उपस्थितिमा ती गद्दार हुन्, हरियो घाँसका हरियो सर्प हुन् भनेर उर्ली-उर्ली भाषण गर्दा समेत चुप लागेर बस्नुपर्ने अवस्था आएको उनले बताए।
‘वैचारिक राष्ट्रवादी, शुद्ध नेता, विचारको नेता, नैतिकवान नेता भनेर आफूलाई स्थापित गरिरहेका मेरा समकक्षी मित्रहरू अहिले रूझेको बिरालो जस्तोगरी त्यहाँ बसेको देख्दा मलाई माया लाग्छ। कुन नैतिकताबाट दास बनेर बस्न तयार भएका छन्। मैले बुझेको छैन,’उनले भने,’उहाँहरूलाई मैले दासता विरोधी, विधि पद्धतिलाई स्वीकार गर्ने कम्युनिष्ट आदर्श र मूल्य-मान्यतालाई अगाडि बढाउने विधि पद्धतिमा पार्टी चल्छ भन्ने मान्यता राख्ने व्यक्तिवादका विरोधी भनेर चिनेको हो। अहिले कसरी देवत्वकरण गर्ने पार्टीमा बसिरहेका छन् भनेर म अचम्म परेको छु।’
फेसबुक प्रतिक्रियाहरु