शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवन निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो
समाचार

चितवन निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन।

 

विज्ञापन

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।

विज्ञापन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले गिद्ध प्रकृतिमा छाड्नु भएको हो । सो अवसरमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणका गणपति शशिकुमार कार्कीको उपस्थिति थियो ।

 

 

 

प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार पिठौलीमा रहेको खोरमा प्रकृतिमा रहेका गिद्धको रहनसहनमा घुलमिल हुने गरी केही समय राखेपछि आज प्रकृतिमा छाडिएको हो । यसअघि सन् २०१७ मा ६ पोथी, सन् २०१८ मा तीन पोथी र दुई भाले तथा सन् २०१९ मा चार पोथी र तीन भाले गिद्धलाई यसरी नै प्रकृतिमा छाडिएको थियो ।

महानिर्देशक कँडेलले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन यो उपयोगी भएको बताउनुभयो । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी हुर्काएर प्रकृतिमा छाडिएको हो । नेपालले विश्वमा नै पहिलो पटक लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने कामको थालनी गरेको कँडेल बताउनुहुन्छ ।

हाल नवलपरासीसँगै दाङ, कैलाली र कोसीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । कँडेलले यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुगेको बताउनुभयो । प्रकृतिमा रहेका गिद्धलाई सबैले संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । हाल कसरामा १५ भाले र १५ पोथी गिद्ध छन् । यस वर्ष गिद्धले हालसम्म चार अण्डा पारेको कार्यालयले जनाएको छ । एक हप्तामा पिठौलीमा प्रकृतिमा रहेका १० गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छाडीएको छ । गिद्धको चरिचरन, घुलमिल, बासस्थानलगायत विषयमा स्याटलाइटमार्फत अध्ययन गरिने निकुञ्जले जनाएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइन्छ । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस