शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रदेश १ विपक्षी गठबन्धनको एकै स्वरः अबको मुख्यमन्त्री राजेन्द्र राई
समाचार

प्रदेश १ विपक्षी गठबन्धनको एकै स्वरः अबको मुख्यमन्त्री राजेन्द्र राई

प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ।

विज्ञापन

विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो।

विज्ञापन

नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए।

गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमो सरकार बनाउने सहमति यसअघि नै गरिसकेको थियो।

तर, शेखर कोइरालासहितका काँग्रेसका नेताले प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेपछि काँग्रेसले अघिल्लो साताको लागि तय भएको मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक नै स्थगित गर्न निवेदन दिएको थियो।

काँग्रेसको निवेदनपछि सत्तारुढ नेकपा एमालेले पनि प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्म सार्न निवेदन दिएकोमा सभामुख प्रदिपकुमार भण्डारीले त्यसलाई सदर गर्दै बैठक स्थगित गरेका थिए। सत्तारुढ गठबन्धनमा काँग्रेसले गरेको आधाआधा नेतृत्वको दावीलाई गठबन्धनको केन्द्रमा जानकारी गराउने सहमति भएको छ।

प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकोले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने करिब निश्चित छ। त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सरकार बनाउने आह्वान गर्नेछन्। लगत्तै गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउने भएको छ।

गठबन्धन बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

गठबन्धन बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न सबै दलहरूले सांसदहरूलाई ह्विप जारी गर्ने भएका छन्।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन्। सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।

गठबन्धनमा रहेको काङ्ग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस