सोमवार, भदौ २९, २०८२
  • होमपेज
  • समाचार
  • धरानमा चर्किंदै एमालेकाे जेठ २ विवाद : दुई ठाउँमा बोलाइयो नगर अधिवेशन
समाचार

धरानमा चर्किंदै एमालेकाे जेठ २ विवाद : दुई ठाउँमा बोलाइयो नगर अधिवेशन

नेकपा एमालेले देशभर सम्पन्न वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरिरहँदा सुनसुनरीमा भने दसबुँदे सहमतिबमोजिम पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने/नफर्काउनेबारे विवाद चुलिएको छ।

सुनसरी जिल्ला कमिटीमा जारी यो विवादले अहिले धरान उपमहानगरपालिका कमिटीलाई पनि गाँजेको छ।

विज्ञापन

यही कात्तिक ६ गते एमालेले एकसाथ देशभर वडा अधिवेशन गर्ने क्रममा धरान उपमहानगरका ६ वटा वडामा समानान्तर कमिटी बनाइएका छन्। सबैले आफू नै वैधानिक भएको दाबी गरिरहेका छन्। यसैकारण आज देशभर गर्न लागिएको गाउँ/नगर अधिवेशनमा पनि एमालेको धरान कमिटी विभाजन भएको हो।

विज्ञापन

जेठ २ का पक्ष विपक्षमा रहेका दुई समूहले आज छुट्टाछुट्टै अधिवेशन आयोजना गर्न लागेका हुन्।

संस्थापन पक्षले धरान १० स्थित सैनिक भवनमा नगर अधिवेशन गर्न लागेको छ भने जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटल इजी राइडरमा।

दुवै पक्षका नेता/कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आआफ्ना स्थानमा कार्यक्रमका लागि निमन्त्रणा पत्र सेयर गरिरहेका छन्।

वडा अधिवेशनका क्रममा धरानका १, ५, ८, १०, ११ र १७ नम्बर वडामा दुवै पक्षले अलगअलग कमिटी गठन गरेका छन्।

यहाँका कतिपय एमाले नेता/कार्यकर्ताहरूले भने नेताहरू नमिल्दाको परिणाम एउटै पार्टीको अधिवेशन २ ठाउँमा हुन लागेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।

धरान एमालेका ‘हाइप्रोफाइल’ नेताहरूको पालिका भए पनि विवाद मिल्ने छाँट देखिएको छैन।

धरान प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य र प्रदेश सभामुख प्रदीप भण्डारी निवार्चित क्षेत्र हो। धरान सुनसरी क्षेत्र नं १ को प्रदेशसभा क र ख बाट आर्चाय र भण्डारी प्रदेश सभा सदस्य बनेका हुन्।

१० जना वडाध्यक्षको चेतावनी : एकै ठाउँ अधिवेशन नगरे सहभागी हुदैनाैँ!
दुई पक्षले आआफ्ना दाबी गर्दै गर्दा तल्ला कमिटीले भने एकै ठाउँ अधिवेशन गर्न दबाब दिएका छन्। सहमति गरेर एकै ठाउँ अधिवेशन नगरे बहिष्कार गर्ने चेतावनी उनीहरूले दिएका छन्।

शनिबार मात्र निवार्चित ९ वटा वडा कमिटी र २१ नम्बर शाखा कमिटीले दुईतिर गरिए नगर अधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

यसअघि वडा नं १३ र १६ का वडा कमिटीका अध्यक्षहरूले मात्र दुई ठाउँ हुने अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका थिए।

अहिले उनीहरूसहित ९ वटा वडा र एउटा शाखा कमिटीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी अलग अलग गरिए अधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

धरानका १३, १६, १२, ७, २, १४, १४, १५, १८ नम्बर वडा कमिटीका अध्यक्ष र २१ नम्बर शाखा कमिटीका अध्यक्ष एक भएका हुन्।

उनीहरूले नेताहरूलाई मिल्न र एकै ठाउँ अधिवेशन गर्न आग्रह गरेका छन्।

एकै ठाउँमा अधिवेशन नगरिए प्रतिनिधि नपठाउने चेतावनी उनीहरूले दिएका छन्।

दुवै पक्षले अलग अलग अधिवेशनको तयारी गरे पनि सहमतिका लागि नेताहरूबीच छलफल जारी छ।

मिलेर एउटै अधिवेशन नगरे स्थानीय नेता, कार्यकर्ताको मनोबल खस्कने र पार्टीलाई पनि क्षति हुने भन्दै नेताहरू विवाद मिलाउन दौडधुप गरिरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस