बिहिबार, भदौ १८, २०८२
  • होमपेज
  • समाचार
  • प्रचण्ड-माधव कालो धन सेतो बनाउन लागेका छन्, जनार्दन शर्मा दलालका प्रतिनिधि भएर निस्किए : ओली
समाचार

प्रचण्ड-माधव कालो धन सेतो बनाउन लागेका छन्, जनार्दन शर्मा दलालका प्रतिनिधि भएर निस्किए : ओली

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक तीन महत्वपूर्ण दस्तावेज पारित गर्दै सकिएको छ। बैठकमा १० वटा समूहले उठाएका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएका थिए। ओलीले दिएको जवाफको सारसंक्षेप

मैले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको गहन अध्ययन, छलफल र समूह प्रस्तुतिका लागि कमरेडहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

विज्ञापन

राजनीतिक प्रतिवेदनले अंगीकार गरेको राजनीति, दृष्टिकोण र धारणाहरूप्रति दृढ समर्थनका लागि धन्यवाद छ।

विज्ञापन

यसमा तपाईंहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ। दुई महाधिवेशनबीचको सर्वोच्च निकाय यस केन्द्रीय कमिटीमा तपाईंहरुले दिएका सुझावलाई समावेश गरेर विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछौँ।

अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा प्रतिवेदनमा चर्चा गर्दा हामीले विभिन्न कुरामा ख्याल गरेका छौँ। ठूला–ठूला देशहरुमा त बाहिरी शक्तिले हात हालेका हुन्छन् भने हाम्रो जस्तो सानो मुलुकमा हात हाल्दैनन् भन्ने होइन, हाल्छन्। त्यसमा हामी कसरी सचेत रहने भन्ने विषयमा ख्याल पु¥याउनुपर्छ।

कतिपय कमरेडहरुले एमालेको विकासको मोडल के हो भन्नेबारेमा प्रश्न उठाउनुभएको छ। हामीले देश विकासको स्पष्ट ‘भिजन’ दिएका छौँ। विकासको व्यापक भिजन नै एमालेसँग छ। त्यही भएर हामीले विकासलाई अघि बढाउन सकेका हौँ।

सामाजिक न्याय, लोककल्याणकरी राज्य, सुशासन जस्ता विषयमा हाम्रो स्पष्ट दृष्टिकोण छ।

त्यही भिजनका आधारमा हामीले सरकारमा हुँदा काम गरेर देखाएका छौँ। १४ वटा विकास सूचकांकमा उल्लेख्य प्रगति गरेर देखाएका छौँ।

सहस्राब्दी विकास लक्ष्यमा कोरोना जस्ता विविध कारणले सोचेअनुसार काम हुन नसके पनि प्रगति भएको छ।

हामीले सरकारमा हुँदा महामारीको सामना ग¥यौँ। त्यतिबेला नेपालमा कोभिड परीक्षणका लागि एउटा ल्याब पनि थिएन, नमुना परीक्षणका लागि हङकङ पठाउनुपर्थ्यो।

​कोभिडका सन्दर्भमा त हामीले सिंगापुरजस्ता मुलुकभन्दा राम्रो गरेका छौँ। सिंगापुरको जनसंख्या सानो छ तर मृत्युदर हेर्नुभयो भने हाम्रोभन्दा बढी छ। (ओलीको दाबी गलत छ। नेपालमा कोभिड १९ बाट प्रतिदस लाख ३७३ जनाको मृत्यु भएको छ भने सिंगापुरमा प्रतिदस लाख १३ जनाको मात्र।)

एउटा कुरा हामीले ख्याल के गर्नुपर्छ भने हामी क्रान्तिबाट सत्तामा आएका होइनौँ, निर्वाचनबाट आएका हौँ। प्रतिस्पर्धाबाट सत्तामा आएको पार्टीले प्रतिस्पर्धात्मक राजनीतिमा ध्यान दिनुपर्छ।त्यसका लागि सरकारमा हुँदा राम्रो काम गरेका छौँ।

पराजय र असफलता मात्रै होइन, उपलब्धि र सफलताबाट पनि सिक्नुपर्छ। जनतामा कसरी भोट माग्न जाने होला भन्ने हाम्रो स्थिति छैन। हामीले भनेको समाजवाद ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। यसैलाई कार्यान्वयन गर्नका लागि नै हामीले काम गर्ने हो।

हामीले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ। दलाल पूँजीवादलाई हतोत्साहित गर्नुपर्छ। किनभने, दलाल पुँजीले उत्पादकत्व बढाउँदैन।

विश्वका धनीको सूचीमा परेका मान्छेको नाम नेपालमा कर तिर्नेको सूचीमा किन १० नम्बरमा पनि किन पर्दैन? यसका पछाडि दलाल पुँजीले काम गरेको छ।

उपभोग्य वस्तु र निर्यातयोग्य वस्तुको उत्पादनले व्यापारको असन्तुलन घटाउँछ। अरूका उत्पादित सामान ल्याएर बेच्नु व्यापार होइन, बेसाहा हो। यसलाई कम गर्नका लागि हामीले उत्पादकत्व बढाउनुपर्छ।

जनताको बहुदलीय जनवादले हरेक क्षेत्रमा हामीलाई मार्गदर्शन गरेको छ। नेतृत्व विन्यास र शक्ति विन्यासको प्रश्न महत्वपूर्ण छ। सिंगो नेपाली समाज भनेको नेपाल हो। एमाले श्रमजीवी, सर्वहारा, कामदार जनताको पक्षधर पार्टी हो। सुरक्षा, सुविधा, अवसर आदिमा समान अवसर नै समाजवादको आधार हो।

हामी अन्तर्राष्ट्रिय परिस्थितिलाई परिवर्तन गर्ने सामर्थ्य राख्ने शक्ति होइनौँ। तर, कहाँ के भइरहेको छ, थाहा पाउनुपर्छ। त्यसका लागि प्रतिवेदनमा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गरेका छौँ।
हामी कसैमाथि हस्तक्षेप गर्न चाहदैनौं।

​हाम्रो सन्दर्भमा पनि त्यस्तै होस् भन्ने चाहन्छौं। फेरि विश्व दुई ध्रुवीय बनेको छ। अझ रुस र युरोपले पनि ध्रुव हुन खोजिरहेकाले बहुध्रुवीयतिर गइरहेको छ। यसलाई हामीले सूक्ष्म तरिकाले हेर्नुपर्छ।

दलाल पुँजीवाद कसरी प्रकट हुन्छ? हाम्रो अन्तर्विरोध कोसँग? यस्ता कुरामा स्पष्ट हुनुपर्छ। त्यसको प्रतिनिधित्व कुन–कुन शक्तिले गर्दछन् भन्ने कुरा बुझ्नुपर्छ। किनभने, गाईले बाली खायो भने गाईलाई होइन, जसको गाई हो– उसलाई मुद्दा लाग्छ।

माधव नेपालले चुनावपछि एमाले खोज्न टर्च बाल्नुपर्छ भनेछन्। कल्पना पनि कस्तो? यो त मच्छडले बाघ खाएँ भनेर कल्पना गरेजस्तो हो।

कालो धन सेतो बनाउन प्रचण्ड–माधव लागेका छन्, जनार्दन शर्मा दलालका प्रतिनिधि भएर निस्केका छन्। अहिले ‘ब्युरोक्र्याटिक कम्प्राडर’ को बिगबिगी भयो।

पार्टी एकीकरण सही थियो, फुट बेठीक भयो। स्थिरता र स्थायित्वका लागि धेरै प्रयास गरिएको हो। पार्टीलाई कब्जा गर्ने प्रयास भएपछि चुनावको घोषणा गरेको हो। चुनावमा जाँदा त एक भएर जान सकिएला भनेर प्रतिनिधिसभा विघटन गरिएको हो।

महाधिवेशन चैतमा गरौँ म छाड्छु भन्दा पनि मानिएन। महाधिवेशन हुनै नदिएर मलाई अपमानपूर्वक हटाउन खोजेकाले मैले मानिनँ।

नेपाली कांग्रेसका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भए अदालतले सदर गथ्र्याे, पहिले पनि गरेको थियो। एमालेका प्रधानमन्त्रीले विघटन गरेकाले बदर गरेको हो।

२००८ सालमा कांग्रेस सत्तामा हुँदा पाल्पामा बीपी कोइरालालाई कालो झण्डा देखाएबापत् कमलराज रेग्मीलाई सीधै पक्राउ गर्ने आदेश दिएर पैदल हिँडाएर काठमाडौं ल्याइयो। मातृका कोइराला प्रधानमन्त्री हुँदा नेकपामाथि प्रतिबन्ध लगाइयो । अहिले पनि कांग्रेसको नेतृत्वमा हामीमाथि दमन सुरु भएको छ।

हामीले पार्टी एकता जोगाउन सकेनौँ। किनभने, प्रचण्डलाई सम्झाउन सकेनौँ। उनको महत्वाकांक्षा नियन्त्रण गर्न सकिएन। हामी बाह्य नैतिक सहयोग लिन्छौँ तर भौतिक सहयोग लिएर पार्टी चलाउँदैनौँ, अरु बाँकी दल त्यस्ता छन्।

मिडिया हाम्रो छैन, जसको लगानी छ, उसैको पक्षमा लेखिरहेका छन्। भएकामा पनि पहुँच पु¥याउन सकेनौँ।

१० बुँदे सहमति अदालतमा रहेका हाम्रा साथीहरुको हस्ताक्षर निष्प्रभावी होस् भनेर गरेका थियौँ । तर, त्यसले काम गरेन। किनभने, निकै ढिला भइसकेको थियो। पार्टीमा अब ‘ग्यांग अफ फाइभ’ रहँदैन, गुटबन्दी हुँदैन।

नेकपा (एमाले) कायम भइसकेपछि माधव नेपाल बाहिरिनुपर्ने कारण के थियो? उहाँ वरिष्ठ नेता हुँदै हुनुहुन्थ्यो। मान–सम्मान पुगेन भन्नेबाहेक कुनै सैद्धान्तिक कारण छैन। माधव नेपालले आन्दोलनलाई दिएको धोकालाई सामान्य मान्न र प्रशंसा गर्न सकिँदैन।

पार्टी महाधिवेशनमा चुनाव भए माओवादी पक्षधर साथीहरु हार्नुहोला। हिजोको पक्षधरताका आधारमा अरुले पनि हार्नुहोला। त्यसैले त्यसको पनि केही उपाय निस्केला।

सबैलाई उचित स्थानमा राख्नुपर्छ। घरको ढलान नभएसम्म टेको लगाइन्छ, पार्टीमा अहिले त्यस्तै अवस्था छ। मूलतः आगामी महाधिवेशन एकताको महाधिवेशन भएकाले हामीले त्यसैगरी जानुपर्छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस