चितवन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष ०७८÷७९ को बजेट प्रस्तुत गर्दै नारायणीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय परामर्श दातालाई सहभागी गराइने बताएका थिए । तर, चितवन र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमा आकर्षक सिग्नेचर पुल निर्माण गरिने भन्न थालेको मात्रै पनि चार वर्ष पुग्न लागेको छ । यस अवधिमा पुल निर्माणको प्रारम्भिक प्रकृया समेत अघि बढ्नै सकेको छैन ।
विज्ञापन
विज्ञापन
यसअघि २०७४ सालमा चिनियाँ प्राविधिकको सहयोगमा अत्याधुनिक प्रविधिको प्रयोग गरी नारायणीमा सिग्नेचर पुल निर्माण गरिने बताइएको थियो । तर पुलको प्रारम्भिक अध्ययनका लागि समेत चिनियाँ टोली नेपाल नआएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठले बताए ।
‘चिनियाँ प्राविधिक आएनन् । अब विश्व बैंकको सहयोगमा पुल निर्माण गर्ने गरी अगाडि बढ्दै छौँ’, उनले भने, ‘पुलको डिजाइनरले के–के गर्ने भनेर त्यसको कागजपत्र विश्व बैंकमा पठाएका छौँ । त्यसको जवाफ आएको छैन ।’
दोस्रो लहरको कोरोना महामारी सुरु हुनुअघि कागजपत्र विश्व बैंकमा पठाइएको हो । नेपालमा सामान्य पुलहरु निर्माण गर्ने प्राविधिक मात्रै भएकाले अत्याधुनिक सिग्नेचर पुल निर्माणका लागि अन्तर्राष्ट्रिय प्राविधिकलाई बोलाउनुपर्ने उनले बताए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणीको अहिलेको पुल पुरानो र जिर्ण भइसकेकाले त्यस ठाउँमा अर्काे पुल बनाइहाल्नुपर्ने आवश्यकता बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु