शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब कसैले देशलाई पुनः अस्थिरताको भुमरीमा धकेल्न सक्दैन : ओली
समाचार

अब कसैले देशलाई पुनः अस्थिरताको भुमरीमा धकेल्न सक्दैन : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न नसक्ने बतानुभएको छ ।

जंगी अड्डामा आयोजित यस पृतनापति समन्वयात्मक बैठकको समुद्घाटनको अवसरमा प्रधानमन्त्री आोलीले मुलुकमा अस्थिरता फैलाउने केही व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति भएको उल्लेख गर्नुभयो ।

नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने अन्तक्रियाहरु राष्ट्रिय सुरक्षाका चुनौतीहरु पहिल्याउन महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय सुरक्षा एक संवेदनशील र गहन विषय भएकाले यस्ता विषयमा निरन्तर अनुसन्धान, छलफल र अनतर्क्रिया भइरहन आवाश्यक रहेको बताउँदै यस्ता छलफल र यसका निष्कर्षहरु सबैतहका लागि फलदायी हुने बताउनुभयो ।

विज्ञापन

नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्यहरु उच्च राष्ट्रिय महत्वका हुने भएकाले सेनाले सम्पन्न गरेका सबै कार्यहरु राष्ट्रिय उपलब्धिहरुका रूपमा लिन सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतिहरुका बावजुद एकातिर पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकताहरु तत्कालीन चुनौतिका रुपमा टड्कारो देखिएका छन् ।

अर्कातर्फ, विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएका छन् । तसर्थः राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति हुन् ।

यसैगरी नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्दछ । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।’

नेपाली सेनाले कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गरिरहेका पूति पनि आफूले उच्च मूल्याङ्कनका साथ हेरिरहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले कोरोना भाइरसको महामारी र बिपद् ब्यावस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सिन्धुपाल्चोकका जनताको सुरक्षाको लागि नोपाली सेनाले सफल अप्रेशन गरेको प्रधानमन्त्रीको ठम्याइ छ । ‘अपरेसन नाम्फा जोगाउ’को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु । त्यसैगरी कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु’ उहाँले बताउनुभयो ।

त्यस्तैगरी प्रधानमन्त्री ओलीले विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिबृद्धि कार्यमा पनि उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ । सायद समयमै सेनाले यो कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको इतिहास गर्विले भएको र अहिलेको कालसम्म पनि त्यसको निरन्तरता रहिरहेको बताउनुभयो । उहाँले दार्चुलाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर भरपर्दो र विश्वशसनिय काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कठीन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ । सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय रह्यो ।

सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस