आइतवार, अशोज ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाद्र २८ गते ईन्दिरा एकादशी, बिधिपुर्वक व्रत बस्नाले अग्रजहरुको उद्धार हुने
समाचार

भाद्र २८ गते ईन्दिरा एकादशी, बिधिपुर्वक व्रत बस्नाले अग्रजहरुको उद्धार हुने

धर्मराज युधिष्ठिरले आश्विन कृष्णपक्ष अर्थात पितृपक्षमा पर्ने एकादशीका बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले भगवान् श्री कृष्णसित प्रश्न गरे – हे भगवन ! आश्विन कृष्णपक्षको एकादशीको नाम के हो ? यसको व्रतविधि तथा फल के छ ? यस प्रसंगमा मलाई उपदेश गर्नुहवस् । युधिष्ठिरका प्रश्न सुनेर भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो युधिष्ठिर ! यतिबेला पर्ने एकादशीको नाम इंदिरा एकादशी हो । यो एकादशी पापलाई नष्ट गर्ने तथा पितृहरुलाई अधोगतिबाट मुक्ति दिलाउने एकादशी हो । हे राजन ! ध्यानपूर्वक यसको कथा सुन । यसलाई सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ ।

प्राचीनकालमा सत्ययुगको समयमा महिष्मति नामको एउटा नगरीमा इंद्रसेन नामको एकजना प्रतापी राजा धर्मपूर्वक आफ्ना प्रजालाई पालन गर्दै शासन गर्दथे । ती राजा पुत्र, पौत्र र धन आदिबाट सम्पन्न र भगवान् विष्णुका परम भक्त थिए । एक दिन सुखपूर्वक आफ्नो सभाकक्षमा बसेर राजकाजका बारेमा छलफल गरिरहेको समयमा अन्तरिक्षबाट महर्षि नारद उनको सभामा उपस्थित भए । अकस्मात् आफूअगाडि राजाले नारदलाई देख्दा राजा छक्क परे र उनलाई प्रणाम गर्दै उभिए र विधिपूर्वक आसन गर्नको लागि अनुरोध गरे । राजाको आतिथ्यलाई स्वीकार गर्दै मुनि नारदले राजासित प्रश्न गरे– हे राजन ! तिम्रा राज्य राज्यप्रशासनका समस्त क्रियाकलाप र अंग राम्ररी नै सुसञ्चालित त छन् ? तिम्रो बुद्धि धर्ममा र तिम्रो मन विष्णु भक्तिमा रत त छ ? देवर्षि नारदका यस्ता कुरा सुनेर राजाले उत्तर दिए– हे महर्षि ! हजुरको कृपाले मेरो राज्यमा सबै ठिकठाक र कुशल छ तथा म कहाँ यज्ञ कर्मादि सुकृतिपूर्वक भइरहेका छन् ।

हजुरले मेरो राजसभामा पाउ कष्ट गरी हामीलाई धन्यधन्य त तुल्याउनु भएको छ, तर उपस्थित हुनासाथ किन यस्ता प्रश्न गर्नुभएको ? हजुरको आगमनको मुख्य अभिप्राय बताउने कृपा गर्नुहुन अनुरोध छ । अनि ऋषि नारदले राजाका जिज्ञासालाई उत्तर दिदै भन्न थाले –हे राजन ! तिमीले मेरा कुरा सुन्नासाथ आश्चर्य मान्नेछौ । मेरा वचनलाई सुन । म एक पटक ब्रह्मलोकबाट यमलोक गएँ, त्यहाँ श्रद्धापूर्वक यमराजद्वारा पूजित भएर मैंले धर्मशील र सत्यवान धर्मराजको प्रशंसा गरेँ । यमराजको त्यसै सभामा महान ज्ञानी र धर्मात्मा तिम्रा पितालाई एकादशीको व्रत भंग भएका कारणले पाए । उनले पठाएको संदेश सुन । तिम्रा पिताजीले भनेका छन कि पूर्व जन्ममा कुनै विघ्न भएका कारणले म यमराजका छेउमा बस्दैछु , त्यसैले हे पुत्र ! यदि तिमी आश्वीन कृष्णपक्षको इंदिरा एकादशीको व्रत मेरा निम्ति गर्नसक्छौ भने मलाई स्वर्गप्राप्ति हुनेछ । नारदका मुख बाट पिताजीको सन्देश सुनेर राजा भन्न थाले हे महर्षि ! हजुरले यस व्रतको विधि मलाई बताउनुहोस् । नारदजीले व्रतविधि आज्ञा गरे–आश्विन महिनाको कृष्ण पक्षको दशमीका दिन प्रातस्कालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुनः दिउँसो नदी आदिमा गएर स्नान गर्नु पर्छ । अनि श्रद्धापूर्वक पितृश्राद्ध गर्नु पर्छ र एक छाक मात्र भोजन गर्नु पर्छ ।

विज्ञापन

प्रातःकाल भएपछि एकादशीका दिन दतिउन आदि गरेर स्नान गर्नु पर्छ, पुनः व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गनु पर्छ कि ‘म आज संपूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु , हे अच्युत ! हे पुंडरीकाक्ष ! म हजुरको शरणमा छु , हजुरले मेरो रक्षा गर्नुहोस, यसरी नियमपूर्वक शालिग्रामको प्रतिमा अगाडी विधिपूर्वक श्राद्ध गरेर योग्य ब्राह्मणलाई फलाहार भोजन गराउनु पर्छ र दक्षिणा दिनु पर्दछ । श्राद्धमा बाकी रहेका पदार्थलाई सुघेर गाईलाई दिनु पर्दछ र धुप, दीप, गंध, पुष्प, नैवेद्य आदि सम्पूर्ण सामग्रीले ऋषिकेश भगवानको पूजन गर्नु पर्छ । रात्रीकालमा भगवानको प्रतिमाको छेवैमा बसेर जागरण गर्नु पर्छ । त्यसपछि द्वादशीका दिन प्रातःकालमा भगवानको पूजाआजा गरेर ब्राह्मणलाई भोजनदी गरा उनु पर्छ । भाइ–बंधु, स्त्री र पुत्र सहित आफुले पनि मौन रहेर भोजन गर्नु पर्छ । नारदजी बताउदै हुनुहुन्छ– हे राजन ! यसप्रकारले यदि तिमीले आलस्य रहित भई यस एकादशीको व्रत गर्यौ भने तिम्रा पिता अवश्य नै स्वर्गलोक पुग्ने छन् ।

यत्तिका कुरा भने पछि नारदजी अंतर्रध्यान हुनुभयो । नारदका कथनानुसार राजाले आफ्ना दाजुभाइ, इष्टमित्र, बन्धुबान्धव, करकुटुम्ब र दासजन सहित विधिपूर्वक व्रत लिए व्रत समापन भएपछि आकाशबाट पुष्पवर्षा भयो र त्यस राजाका पिता गरुड़मा बसेर पृथ्वीतलमा रहेका सन्ततिलाई अशिर्वचन प्रदान गर्दै विष्णुलोकतर्फ गए । राजा इंद्रसेन पनि एकादशीको व्रतको प्रभावले निष्कंटक राज्य सुखभोग गरेर अन्त्यमा आफ्ना पुत्रलाई सिंहासनमा राखेर स्वर्गलोकतर्फ प्रस्थान गरे । हे युधिष्ठिर ! आजको यस इन्दिरा एकादशीको कथा एवं माहात्म्य यत्ति नै हो, जुन मैले तिमीलाई सुनाए ।

ज्यो.दुर्गा भण्डारी ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस