बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • विशेष
  • जंगबहादुरलाई मार्न लखन थापाले बनाएको किल्ला
विशेष

जंगबहादुरलाई मार्न लखन थापाले बनाएको किल्ला

राजकुमार दिक्पाल ।

गोरखाका पूर्व सैनिक लखन थापा प्रधानमन्त्री जंगबहादुरलाई हत्या गरी देशको सुनौलो भविष्य कोर्न चाहन्थे। तर, विद्रोहको तयारी गरिरहेका उनलाई जंगबहादुरकै आदेशमा झुण्ड्याइयो र उनी देशकै प्रथम शहीद बने।

नेपालमा प्रथम शहीद लखन थापा मगर बारे थुप्रै प्रश्न, शंका सुनिन्छ। लखन थापा ‘सैन्य अफिसर भएको प्रमाण के छ ?’ भन्ने प्रश्न मात्र होइन, सरकारी मुखपत्रमै उनलाई ‘लुच्चो मगर’ लेखेर निन्दा समेत गरिएको छ।

विज्ञापन

जंगबहादुर राणाका छोरा पद्मजंगले त लखन थापालाई ‘जोगीको भेष धारण गरेर पेट पाल्नका लागि लाटा सुधा मानिसलाई लूटपाट गर्ने लुटेरा र अर्धपागल’ भनी लाञ्छित नै गरेका छन्।

तर लखन थापा (दोस्रा) लाई एक विद्रोहीका रूपमा पुष्टि गर्ने अनेकौं ऐतिहासिक तथ्य छन्। उनी आफ्नो समयका साहसी सैन्यनायक, आध्यात्मिक र जनप्रिय नेता थिए।

विद्रोह किल्ला

गोरखाको साविकको बुङ्कोट–४, काहुलेभँगार र हाल लखन थापा गाउँपालिका–७ मा लखन थापाकै नाममा विद्यालय र सालिकसहित स्मारक पनि बनाइएको छ।

सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको डेढ रोपनी जति क्षेत्रफल रहेको यो समथर भूभागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ। कारण, सैन्य सेवाबाट अवकाश लिई थापाले यहीं बसेर धार्मिक क्रियाकलाप, जनजागरण र सैन्य संगठन गरी जंगबहादुरको हत्या गरेर सुनौलो इतिहास निर्माण गर्ने प्रतिज्ञा गरेका थिए।

लखन थापाको किल्ला र सैन्य संगठन अनुश्रुति वा किंवदन्तीमा मात्र सीमित छैन, प्रामाणिक पनि छ।

लखन थापा आफूलाई राम शाहकालीन सिद्ध लखन थापा (प्रथम)को अवतार ठान्थे र मनकामनादेवीबाट आफूलाई जंगबहादुरको हत्या गर्ने आदेश प्राप्त भएको प्रचार गर्थे।

पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को अंक २७ (२०३१ वैशाखः१५–१६) मा छापिए अनुसार थापाले ‘मनकामनामा गएर पूजा गर्नुपर्दैन यहीं पूजा गरिदिन्छु’ भनी बुङ्कोटबाटै पूजा चलाउन थालेपछि मनकामना मन्दिरमा गएर भक्तजनले पूजा गर्नै छाडे।

लखनले पाँचतले घर बनाएका थिए र त्यहींबाट मनकामनाको पूजा चलाउँथे। त्यहाँ जंगबहादुर विरुद्ध जाइलाग्न आफ्ना बफादार मानिस मात्रै होइन आक्रमणका लागि हातहतियार, बन्दूक र धनुकाँडहरू पनि जम्मा गरेका थिए।

उवेलाको भव्य पाँचतले घरलाई उनले सुरक्षाका लागि पर्खालले घेरेका थिए। ‘रेग्मी रिसर्च सेरिज’ को वर्ष १२ अंक २ (सन् १९८० डिसेम्बरः७२–७५) मा छापिएको आलेख अनुसार, सरकारी सैन्य अधिकारीहरूले लखन थापाको विद्रोह दमनका क्रममा वि.सं. १९३२ चैत सुदि १ मा गरेको बयानमा लखन थापा बस्ने एउटा किल्ला जस्तो घरलाई आठ क्यूविक चौडाइ र १६ क्यूविक उँचाइको पर्खालले घेरिएको उल्लेख छ।

‘प्राचीन नेपाल’ (उही) अनुसार उक्त घरलाई मैदान हुने गरी भत्काइयो। र, आज त्यही ठाउँलाई नै ‘विद्रोही किल्ला’ भनिन्छ।

१५०० सेना 
मगर समुदायले लखन भारतको अल्मोडामा शिक्षादीक्षा पाएका र नेपाली सेनाका कप्तान थिए भन्ने दाबी गर्दै आएका छन्। तर, सैन्य इतिहासकार उनी कप्तान नै भएको भन्ने दाबीमा प्रमाण नपुग्ने बताउँदै आएका छन्।

जंगबहादुरका छोरा पद्मजंग राणाले आफ्नो पुस्तक ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४ः२८३–२८४) मा लखन थापालाई ‘एक जना भूतपूर्व सैनिक’ भनी लेखेका छन्। राणाकै लेखाइ अनुसार लखन आफ्नो विनित आचरण र अनुनयी भाषाले छोटो समयमै १५०० सङ्ख्यामा सेना जम्मा गर्न सफल भएका थिए। नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने र जंगबहादुरको हत्या गरी सरकार आफ्नो अधीनमा लिने अनि त्यसै दिन नेपाली इतिहासको स्वर्णयुग शुरू गर्ने घोषणा लखनले गरेका थिए।

पद्मजंगकै लेखाइबाट पनि लखन थापासँग त्यही बेला १५०० को सैन्य शक्ति हुनु, उनको नेतृत्व स्वीकार गर्नुले पनि कुनै समय उनी सैन्य अधिकृतकै पदमा रही सक्रिय एक अनुभवी कमाण्डर थिए भन्ने अनुमान गर्ने आधार मिल्छ। किनभने, एउटा सामान्य सिपाही मात्रै भए न उनमा सैन्य नेतृत्व गर्ने आँट र सीप हुन्थ्यो, न उनको नेतृत्व सर्वसाधारणलाई स्वीकार्य हुन्थ्यो। लखनले आफ्ना बफादारहरूलाई उच्च सैन्य अधिकारीको जिम्मेवारी पनि बाँडेका थिए।

लखनको गतिविधि निगरानी गर्न सरकारका तर्फबाट मेजर कप्तान शम्शेरबहादुर थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र पाल्पाका सुवेदार वदलसिंह बस्न्यातलाई जिम्मेवारी दिइएको थियो। उनीहरूले प्रसादसिंह थापा, खड्ग थापाहरूबाट पाएको सूचना अनुसार २६ फागुन १९३२ मा ढाल र तरबारले सुसज्जित भोटे सेनाको ठूलो समूह लखनलाई जंगबहादुरको हत्याको योजनामा साथ दिन आइपुगेका थिए।
यी भोटे सेनाका जवान गोरखाको उत्तरी भेगको अठारसयखोला क्षेत्रका स्थानीय हुनसक्ने अनुमान छ। यहाँका भोटेहरूले १९०७ सालमा जंगबहादुरको आदेश अनुसार त्यहाँ खानी खनाउन जाने ठेकेदारलाई पाता कसी काम अवरुद्ध गरेका थिए। भोटेहरूको यो विद्रोह दवाउन जंगबहादुरको आदेश अनुसार सैन्य शक्ति परिचालन गरिएको थियो भन्ने तथ्य ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक ५ (सन् १९८० डिसेम्बरः७०–७१)मा पढ्न पाइन्छ। सम्भवतः जंगबहादुरप्रति बदला लिन पनि उनीहरूमध्ये कतिपय लखन थापाको सैन्य पंक्तिमा पंक्तिबद्ध भएका थिए।

जंगबहादुर तार्कु वा लमजुङको मनाङवेसीमा शिकार खेल्न आएको बखत उनको हत्या गर्ने लखन थापाको योजना रहेको थियो।

सरकारी सेनाले घर घेराउ गरेर लखन, अजपसिंह थापा लगायतका बफादारहरूलाई पक्राउ ग¥यो। उनीहरूलाई पक्राउ गरी केरकार गर्दा लखन थापाले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिएको र अन्यलाई जर्नेल, कर्णेल र कप्तान पद दिने कसम खाएको ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक २ (सन् १९८० डिसेम्बरः७२–७५) मा पढ्न पाइन्छ।
त्रैलोक्यविक्रमसँगको सम्बन्ध
गोरखाबाट जनसाधारण समेतको सहयोगमा राणा प्रधानमन्त्री जंगबहादुर विरुद्ध सशस्त्र विद्रोहको योजना गरेर लखन थापाले असामान्य आँट देखाएका थिए। ‘रेग्मी रिसर्च सेरिज’ (उही) अनुसार लखन थापा शिकारमा गएको बखत जंगबहादुरको हत्यामा असफल भए तिब्बतसँग विद्रोहको लागि गुहार माग्न जाने बताउँथे। हत्या योजना सफल भए शाहजादा उपेन्द्रविक्रम शाहलाई राजा बनाउने र आफू दोस्रो व्यक्ति अर्थात् प्रधानमन्त्री हुने योजना पनि लखन थापाको थियो।
नेपाली इतिहासमा राजा सुरेन्द्रविक्रम शाहका छोरा युवराज त्रैलोक्यविक्रम शाहले जीवनभर आफ्नो शिरमा श्रीपेच पहिरिएनन्। राणा शासनको अन्त्य नभइञ्जेज श्रीपेच नलगाउने प्रतिज्ञा उनले गरेका थिए।

३० वर्षकै उमेरमा १९३४ सालमा रहस्यमय ढंगबाट उनको मृत्यु भयो। श्रीपेच नलगाई खुलेआम राणाहरूको विरोधमा लागेका उनलाई राणाहरूले नै विष खुवाएर मारेको हुनसक्ने आशङ्का गरिंदै आएको छ। उनको मृत्युको एक वर्षअघि १९३३ सालमा लखन थापा लगायत उनका अन्य ६ जना बफादारलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।

लखन थापाले नेपाली सेनाबाट सैन्य सेवा त्याग्नुअघि उनै राणाविरोधी युवराज त्रैलोक्यका अङ्गरक्षक थिए। यो ऐतिहासिक प्रसङ्ग जंगी अड्डा, काठमाडौंबाट छापिएको ‘नेपालको सैनिक इतिहास’ भाग–२ (२०६५ः३६४) मा परेको छ। तुुलसीराम वैद्य, विजयकुमार मानन्धर र प्रेमसिंह बस्न्यातद्वारा सम्पादित यस पुस्तकमा ‘…युवराज त्रैलोक्यविक्रम शाहको आठपहरिया लखन थापाले वि.सं. १९३२ मा श्री ३ जंगबहादुर राणाको विरुद्धमा गोरखा क्षेत्रमा विद्रोह शुरु गरे। सोही कारण उनलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो’ भन्ने उल्लेख गरिएको छ।

त्रैलोक्यको राणाविरोधी भावबाट प्रभावित भएर पनि उनका अङ्गरक्षक लखन थापामा विद्रोही चेत आएको हुनसक्ने अनुमान थप बलियो भएर आउँछ।

जंगबहादुरको जीवनयात्रा’ (उही) मा पद्मजंगले लखन थापा लगायत उनका ६ जना बफादारलाई जंगबहादुरले देवीदत्त कम्पनीलाई खटाएर मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न लगाएको उल्लेख छ।

तर, गोरखाको बुङ्कोट काहुले भँगारमा लगी उनीहरूलाई मृत्युदण्ड दिइयो भन्ने अर्को स्थानीय अनुश्रुति सत्यको नजिक देखिन्छ। किनभने धार्मिक स्थलहरू पवित्र मानिने हुँदा त्यस्ता स्थलहरूमा मानिसको बध नगरिएको हुनसक्ने देखिन्छ।

बरु स्थानीय गाउँलेहरूलाई तर्साउन वा चेतावनी दिन विद्रोहीहरूलाई उनीहरूकै गाउँ बुङ्कोट काहुले भँगारमा लगेर मृत्युदण्ड दिए होलान् भन्न सकिने आधार बलियो देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस