बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई ‘आइरन म्यान’ बन्ने अवसर
समाचार

ओलीलाई ‘आइरन म्यान’ बन्ने अवसर

राम थापा ।

सन् १९४७ मा बृटिस औपनिवेशबाट मुक्त भएपछि राजनीतिक अस्थिरता र अराजकताले भारतमा जरो गाड्यो । स्वतन्त्रता पछि बनेका सरकारहरुले भारतको आन्तरिक राजनीतिका समस्याहरुलाई हल गर्न सकेनन् । सत्ताधारी पार्टी भारतीय रास्ट्रिय काङ्ग्रेस भित्रै आन्तरिक कलह चर्किदा विपक्षी पार्टीहरुले थालेको सरकार विरोधी अभियानले राजनीतिक अस्थिरतालाई मलजल गर्ने काम गर्यो ।

 

विज्ञापन

आन्तरिक तथा बाह्य चुनौतीका चाङ्ग बीच सन २४ जनवरी १९६६ मा इन्दिरा गान्धी प्रधानमन्त्री भइन । भारतीय राजनीतिलाई जसरी पनि पटरीमा ल्याउनु पर्ने मुख्य चुनौती इन्दिरा गान्धीलाई थियो । उनले अनेकौ कोसिस गरिन तर स्थिति झन झन बिग्रिदै गयो ।

 

भारतलाई सँधै राजनीतिक अस्थिरताको भुमरीमा फसाइराख्ने आन्तरिक र बाह्य षड्यन्त्रलाई सदाका लागि समाप्त पार्ने दृढ संकल्पका साथ इन्दिराले राजनीतिको गतिलाई अगाडि बढाउदै लगिन । विधि र प्रकृयाबाट सत्तारोहणकाे बाटो छाडेर सत्ताका भोकाहरु राजकीय अभीष्ट पूरा गर्न बेलायत र अमेरिकाको सहारा खोज्न थाले । इन्दिराको नेतृत्व असफल भएको कुप्रचार गर्न थाले ।

 

देशको समग्र राजनीतिलाई नै कमजोर बनाई स्वार्थको रोटी सेक्ने केही सदृश्य र केही अदृश्य षड्यन्त्रहरु हुन थाले पछि इन्दिराले आफ्नै क्याविनेटका मन्त्री र आफ्नै पार्टीका नेताहरुसङ्ग कुनै सर सल्लाह नगरी २५ जुन १९७५ मा मुलुकमा संकटकालको घोषणा गरेकी थिइन । त्यो बेला इन्दिराका लागि कठिन घडी थियो । विरोधी राजनीतिक शक्तिहरु त दाउ पर्खेर बसेकै थिए । पार्टी र सरकारभित्रै बसेका आफ्ना भनिनेहरु पनि घात लगाएर बसेका थिए ।

 

त्यो बेला कसैको पनि विश्वास गर्ने अवस्था थिएन । त्यस्तो बेला इन्दिराले मुलुकमा लगाएको उक्त संकटकाका कारण मृत्युपर्यन्तसम्म पनि आलोचना त भइरह्यो । तर, संसारको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिएको भारतले विधिको शासन र कानूनी राज्यको अवधारणलाई संस्थागत गर्यो । अविचलित इच्छा शक्ति, स्पष्ट अडान र कठोर निर्णय गर्न सक्ने क्षमताको उनले सत्ता सञ्चालनमा भरपुर सदुपयोग गरिन ।

 

जसले गर्दा भारतीय राजनीतिमा इन्दिरालाई ‘आइरन लेडी’को उपाधि मिल्यो । इन्दिराको दृढ इच्छा शक्तिले निर्माण गेरको विधिको राजनीतिले अहिले आधुनिक भारतलाई प्रगतिपथमा डोर्याइ रहेको छ । पछिल्लो दशकमा यसको लाभ विगतमा लामो समय प्रतिपक्षमा रहेको भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत प्राप्त भएको छ ।

 

समय र परिस्थितिले राजनीतिको मूल नेतृत्वमा विभिन्न नेताहरु उदाउने र अस्ताउने गर्दछ्न् । तर, सबै नेताहरुको नेतृत्व क्षमता इतिहासमा लेखिदैन । हाम्रो देशको राजनीतिक नेतृत्वमा सन्दर्भमा पनि यो लागू हुन्छ ।

 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अडानहरु सही थिए भन्ने कुरा ६ सदस्यीय कार्यदलको गठन र त्यसले ६ भदौ २०७७ मा दुई अध्यक्षलाई बुझाएको १८ पृष्ठको प्रतिवेदनले प्रमाणित गर्छ । उक्त प्रतिवेदनले प्रधानमन्त्रीका पूर्ववत अडानलाई सदर गरिदिएको छ ।

 

प्रधानमन्त्री र अध्यक्ष समेतबाट राजीनामा माग्दै नेपाली राजनीतिमा फेरि भयंकर अस्थिरता ल्याउन खोज्ने चेतको इतिहासमै पहिलो पल्ट पराजय भएको छ । कोरोनाको कहरका बीच प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने झन्डै तीन महिना लामो षडयन्त्रको जालो हाललाई भताभुङ्ग भएकाे छ ।

 

यस्तो निकृष्ट षड्यन्त्रलाई रोकेर मुलुकलाई अस्थिरताको राजनीतिबाट जोगाएकोमा देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको प्रशंसा भएको छ । ओलीलाई नेकपाको अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले झण्डै तीन महिनासम्म गरेको कसरतले “दुश्मन खोज्न बाहिर जानु पर्दैन । घरमै खोजे हुन्छ” भन्ने प्रचलित नेपाली उखानलाई जनमानसमा प्रमाणित गरिदिएको छ ।

 

सारा विश्व कोरोना महामारी र यसले निम्त्याएका संकटहरुसंग लडिरहेका बेला यता आफ्नै पार्टीको करिब दुई तिहाईको सरकार ढाल्ने षडयन्त्र नाकाम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका त उल्लेखनीय रह्यो नै राजनीतिक स्थिरता चाहेका नेपाली जनताका आवाजहरु पनि षयन्त्रहरुका विरुद्द गुञ्जिए । निश्चित अवधिका लागि व्यवस्था गरिएको प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्सी जोगाउन भन्दा पनि विधि र प्रक्रियाको रक्षा गर्न देशव्यापी रुपमा जनताले नारा जुलुस र प्रदर्शन गर्नु पर्यो ।

 

एकजना प्रधानमन्त्रीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनु पर्छ भनेर जनता सडकमा ओर्लिन थालेपछि चर्को रुपमा प्रधानमन्त्रीको राजीनामा माग्ने कमरेड झलनाथ खनालको स्वर मसिनो हुन गयाे । अध्यक्षको पद छाड्ने वा नछाड्ने भन्ने विषयको टुङ्गो एकताको महाधिवेशनबाट लगाउनु पर्छ भन्ने टुंगाेमा पनि पार्टी पुग्याे । यो नै विधिसम्मत हो भनेर नेकपाका समर्थक शुभचिन्तकहरु पनि सडकमा प्रदर्शन गर्न थालेपछि प्रचण्ड- माधव समूहको ओली हटाउ अभियानले फ्लप भएको हो ।

 

ओलीका पक्षमा देशका विभिन्न स्थानहरुमा निस्केका स्वतस्फूर्त प्रदर्शनलाई प्रधानमन्त्री ओलीको प्रायोजन भनि झुठो आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न सकिन्छ कि भनेर बुनेको योजना एकदिन पनि टिक्न सकेन । प्रचण्ड-माधव समूह यहीनेर चुकेको देखिन्छ ।

 

भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्दा भारतसंगको कूटनीतिक सम्बन्धमा समस्या आएका बेला यता आफ्नै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्नु संयोग मात्र थियो वा भारतीय षडयन्त्र थियो ? नेपाली जनतामा कयौ आशंकाहरु उब्जिएका थिए ।

 

प्रधानमन्त्रीको राजीनामा मागेर नेकपाभित्र विवाद गरिरहेका नेताहरुलाई भारतीय दलाल भन्दै जनताले सडकमा नारा लगाए । राजीनामाको माग ‘बेमौसमको बाजा’ जस्तै बन्यो । प्रधानमन्त्रीका पक्षमा जनता स्वतस्फूर्त रुपमा सडकमा आउलान भनेर सोचिएको थिएन ।

 

प्रधानमन्त्री ओलीको बढ्दो लोकप्रियताको आंकलन गर्न नसक्नु प्रचण्ड-माधव समूहको ठूलो भूल भयाे भनेर विश्लेषण गर्न सकिन्छ । वि.सं २०४६ यता आफ्नै सहकर्मी ढालेर सत्तामा जाने जुन फोहरी राजनीतिक खेलहरु हुँदै आएका थिए ती खेलको पुनरावृत्ति नेकपा भित्रबाट गर्न खोज्ने षडयन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भावना र चाहना अनुसार नै नाकाम बनाइदिएका छन् । र, ६ सदस्यीय कार्यदलको प्रतिवेदनले विरोधी समूहलाई ‘फेस सेभिङ’ सुविधा पनि प्राप्त भएको छ । एउटा राजनेताले विरोधीहरुलाई पनि सम्मानको नजरले हेर्नु राजनीतिमा राम्रो सुसंस्कार मानिन्छ ।

 

पार्टी भित्रैबाट राजीनामाको मुद्दा उठ्नु ओली नेतृत्वको लागि कठिन परीक्षाको घडी थियो । यो परीक्षा ओलीले कुशलतापूर्वक पार गरेर फेरि एकपटक घरेलु राजनीतिमा कौशल नेतृत्व देखाएका छन् । कालापानी, लिम्पुयाधुरा, लिपुलेकसहितको नयाँ नेपाली नक्सा जारी गरेर शानदार तरिकाले छिमेकी भारतलाई जवाफ फर्काउन सक्नु प्रधानमन्त्री ओलीको अन्तराष्ट्रिय राजनीतिक सफलता हो । विशाल भारतको विशाल सञ्चार जगतमा इतिहासमै पहिलो पल्ट लगातार समाचारका मुख्य हेडलाइन बन्ने अवसर पनि ओलीलाई मात्र प्राप्त भएको छ ।

 

राष्ट्रिय स्वाधीनताका मामिलामा प्रधानमन्त्री ओलीले उठाएको कदम विश्वजगतले थाहा पाएको छ । भारतका मात्र नभई संसारभरका सञ्चार माध्यमहरुमा नयाँ नक्सा बारे समाचारहरु कभरेज भएका छन । यस अघिको नेतृत्वले छिमेकीहरुसंग जोडिएका मुद्दाहरु मन भित्रै गुम्साएर राखेका हुन्थे । तर प्रधानमन्त्री ओलीले विश्वले थाहा पाउने गरी मुलुकको हितसंग सम्बन्धित मुद्दामा स्पष्ट प्रतिक्रिया दिएका छन । प्रधानमन्त्रीको यस्तो हिम्मतलाई नेपाली जनताले सलाम गरेका छन ।

 

एउटा राजनेताले आन्तरिक तथा बाह्य समस्यालाई कसरी सम्बोधन गर्नु पर्छ भन्ने उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका छन । पछिल्ला ६ महिनामा प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीका सन्दर्भमा लिएका अडान र गरेका कामले “घर मिलाउन नसक्नेले बाहिर पनि मिलाउन सक्दैन” भन्ने नेपाली उखानको सान्दर्भिकतालाई उल्टाइ दिएकाे छ ।

 

दोश्रो पटकको मृगौला प्रत्यारोपण पछि नै प्रधानमन्त्री ओलीलाई माथि उल्लेखित चमत्कारिक कार्य गरेका हुन । सरकारको नेतृत्व सम्हालेको साँढे दुई बर्ष पूरा भएको छ । महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदश्यीय कार्यदलले बुझाएको प्रतिवेदन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मत्थर भएको छ । प्रतिवेदनको कार्यान्वयन क्रमश: हुने भएकाे छ ।

 

पछिल्ला घटनाक्रमले नेकपा भित्र अनावश्यक विरोध, अवरोध, आरोप र प्रत्यारोपमा फजुल समय खर्च गरिराख्ने संस्कार बसेको थियाे । यो संस्कारले आगामी दिनहरुमा फेरि नयाँ विवादहरु सिर्जना गर्दा नाेक्सानीकाे भारी बाेक्नु पर्छ भन्ने सन्देश पनि दिएकाे छ । किनभने, पार्टी एकताका कामहरु अझै बाँकी छन ।

 

नेकपाको राजनीतिक कार्यदिशा कस्तो हुने हो, पार्टी भित्रका स्वार्थ समूहहरु कसरी प्रस्तुत हुने हुन ? भन्ने कुरा चाहिं भविष्यको गर्भमै छन् । यी कुराहरुको जिज्ञासा मेट्न हामीले एकताको महाधिवेशन पर्खिनु पर्ने हुन्छ । त्यस बेलासम्म प्रधानमन्त्री ओलीले सुझबुझका साथ सरकार र पार्टीको नेतृत्व गर्नु पर्नेछ ।

 

झिनामसिना स्वार्थ पूरा गर्ने निहुँमा विगतमा पार्टी नेतृत्वबाटै निरन्तर खेप्नु परेको असहयोगको घेराबन्दीलाई तोड्दै पार्टी र सरकार जोगाएर प्रधानमन्त्री ओलीको एक कुशल र अब्बल राजनेताको परिचय दिएका छन । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट आज हटाउँछन कि भोलि हटाउँछन भन्दै चिन्तामा डुवेका जनता कार्यकर्ता शुभचिन्तक र समर्थकहरुमा ‘समृद्ध नेपाल सुखी नेपाली’ प्रति आशा र विश्वास जागृत गराएको छ ।

 

पछिल्लो राजनीतिक यात्रामा ‘ओली आइडिया’ले गरेको नेपाली राजनीतिको संकटमोचन सबै राजनीतिकर्मीका लागि सिकाईकाे गतिलाे पाठ हुनसक्छ ।

 

जजसले ओलीलाई सत्ता र पार्टीको नेतृत्वबाट हटाउन खोजेका थिए उनीहरुलाई पनि ‘ओलीसूत्र’ भविष्यमा ‘सञ्जीवनी बुटी’ हुनेछ । रत्तिभर विचलित नभई पार्टी र सरकारको नेतृत्व कुशलतापूर्वक गरेर झनै शक्तिशाली बनेर देखापरेका प्रधानमन्त्री ओलीका सामुन्ने अब मुख्य तीन महत्वपूर्ण कार्यभार छन । ती हुन : एकताको महाधिवेशन गरेर नयाँ नेतृत्वलाई नेकपा हस्तान्तरण गर्नु, २०७९ मा तीनै तहकाे निर्वाचन गर्नु र जनादेशको भावना र मर्म अनुसार कुशलतापूर्वक सरकारको पाँच बर्षे कार्यकाल पूरा गर्नु । यिनै कार्यभारको पूर्णताले ओलीलाई नेपाली राजनीतिमा ‘आइरन म्यान’ बन्ने अवसर प्राप्त हुनेछ ।साघँु साप्ताहिकबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस