मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • रत्ननगर
  • गैँडाले धानबाली सखाप पा¥यो , नियन्त्रणमा निकुञ्ज असफल
रत्ननगर

गैँडाले धानबाली सखाप पा¥यो , नियन्त्रणमा निकुञ्ज असफल

चितवन । निकुञ्जबाट मानवबस्तीमा प्रवेश गरेको गैँडाले रत्ननगरको मध्यवर्ती क्षेत्रका किसानको धानबाली सखाप पारेको छ । दैनिकरुपमा बस्तीमा पसेर धानबाली सखाप पार्दासमेत गैँडा नियन्त्रणमा निकुञ्जले चासो दिएको छैन ।
वर्षदिनभरि खाने अन्नका रुपमा किसानले लगाएको धान गैँडाले सखाप पारेको किसानहरुले बताएका छन् । रातको समयमा बस्तीमा पसेर गैँडाले धानबाली खाने, आहाल बस्ने गरेको किसानहरुले बताएका छन् । रत्ननगर वडा नं–५ को झुवानी मगरटोल, वडा नं–६ को बछौली सौराहा, वडा नं–७ को मालपुर, बोद्रहनी, लौखनी र वडा नं–९ को लालपर्सा, ढिकुवालगायतका ठाउँहरुमा गैँडाले २० बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धानबाली नष्ट गरेको छ ।
विगत पाँच वर्षदेखि निरन्तर गैँडाले धानबाली नष्ट गर्दासमेत नियन्त्रणका लागि निकुञ्जले कुनै पहल गरेको छैन । सबैभन्दा बढी निकुञ्जसँग जोडिएको बछौली र सौराहामा गैँडाले धानबाली सखाप पारेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्न नदिन सो क्षेत्रमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले सिमानामा पर्खाल लगाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र निकुञ्जको सौराहा सेक्टर कार्यालयको प्रवेशद्वारबाट गैँडा बस्तीमा छिर्ने गरेको छ ।

संरक्षण कोष र सेक्टर कार्यालयले गेटको ढोका नलगाएका कारण सजिलै गैँडा बस्तीमा प्रवेश गर्ने गरेको स्थानीय गोपीचन्द्र सापकोटाले बताए । रातको समयमा गैँडा बसेर धान सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् । ‘१० कट्ठामा लगाएको धान गैँडाले खाएर सक्यो’, बछौलीकी कोपिला अधिकारीले भनिन्, ‘गोड्ने बेला भइसकेको धान सबै खाएर सक्यो ।’ गैँडा खेतमा पसेर कलिलो धान खाने र अघाएपछि खेतमै आहाल बस्ने गरेको उनले बताइन् ।
एउटा गैँडाले एक रातमा एक बिघा क्षेत्रफलको धान सखाप पार्ने गरेको छ । हरेक रात सो क्षेत्रमा दुईवटा गैँडा आउने गरेको किसानहरुले बताएका छन् । वन्यजन्तु बस्तीमा छिर्नबाट रोक्न लाखौँ रूपैयाँ खर्चेर मृगकुञ्जले निर्माण गरेको पर्खाल हुँदाहुँदै पनि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको लापर्बाहीका कारण खुल्ला गेटबाट गैँडा सजिलै बस्तीमा छिर्ने गरेको किसान अधिकारीले बताइन् ।

यता वडा नं–९, लालपर्साका किसान राजेन्द्र महतोले सामुदायिक वनबाट बस्ती छिरेको गैँडा र बँदेलले धानबाली सखाप पारेको बताए । ‘भिœयाउन पाइएला भनेर आशै छैन’, उनले भने, ‘यो वर्ष चामल किन्नुपर्ने अवस्था आउँछ ।’ गैँडाले धानबाली सखाप पारेपछि किसानहरुले नियन्त्रणका लागि निकुञ्ज र मध्यवर्ती कार्यालयलाई पटकपटक अनुरोध गरेका छन् ।
तर, नियन्त्रणका लागि सार्थक प्रयास हुन सकेको छैन । निकुञ्ज गैँडा नियन्त्रणका लागि असफल भएपछि किसानहरु रातभरि जाग्राम बसेर गैँडा कुर्ने गरेका छन् । ‘रातभरि कुर्दा पनि चैतमा लगाएको धान आधा सखाप पा¥यो’, सौराहाका किसान गिरिधारी महतोले भने, ‘अहिलेको धान पनि राम्ररी भिœयाउन पाइएलाजस्तो छैन ।’
सरकारले बालीनाली क्षतिबापत किसानलाई राहत दिने गरेको छ । एउटा बालीको अधिकतम १० हजार रूपैयाँ दिने हुँदा सो राहत लिने प्रक्रिया झन्झटिलो रहेको किसानहरुले बताएका छन् । मध्यवर्ती कार्यालयले क्षतिको विवरण संकलन, सामुदायिक वन र स्थानीय सरकारबाट प्रमाणित गराएपछिमात्रै निकुञ्जले क्षतिपूर्तिस्वरुप राहत प्रदान गर्ने गरेको छ ।
‘५० हजार लगानी भएको खेतीको १० हजार राहत पाइन्छ’, किसान महतोले भने, ‘त्यो पनि एक वर्ष लाग्छ ।’ अधिकतम नोक्सान भएको हकमा मात्र १० हजार पाउने व्यवस्था छ । निकुञ्ज सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले गैँडालाई बस्ती छिर्नबाट रोक्न बस्ती र निकुञ्जको सिमानामा पर्खाल र घाँसे मैदान व्यवस्थापनलाई जोड दिएको बताए । ‘घाँसे मैदानको अभावका कारण गैँडा बस्तीमा प्रवेश गरेको हो’, उनले भने, ‘निकुञ्जभित्र घाँस भयो भने गैँडा बस्ती पस्दैन ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस