मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १४ वर्षमा बिहे, २० वर्षमा विधवा
समाचार

१४ वर्षमा बिहे, २० वर्षमा विधवा

रत्ननगर । मनहरी गाउँपालिका हंगलडाँडाकी रिपुमाया चेपाङको १४ वर्षको उमेरमा विवाह भयो । डाँडाकाँडामा खेल्दाखेल्दै एकअर्कालाई मन पराएर बिहे गर्ने चलनलाई तोड्दै रिपुमायाका अभिभावकले चितवन, पिप्लेका एक युवासँग उनको विवाह गरिदिए । केटा र केटीपक्षका अभिभावकहरु राजी भएर रिपुमायाको राप्ती नगरपालिका वडा नं–२, सूर्यमुखी टोलका राजकुमार चेपाङसँग उनको विवाह भयो । राजकुमार र रिपुमायाको विवाह २०७१ सालमा भएको हो । विवाह हुँदा राजकुमार १७ वर्षका र रिपुमाया १४ वर्षकी थिइन् ।

विवाह भएको डेढ वर्षमा रिपुमायाले पहिलो सन्तानको रुपमा छोरी जन्माइन् । पहिलो सन्तान जन्मिँदा रिपुमाया साढे १५ वर्षकी थिइन् । लक्ष्मीको रुपमा जन्मिएकी छोरीलाई दैवले रिपुमायाको कोखबाटै खोसेर लग्यो । जन्मेको डेढ महिनामै जेठी छोरी निमोनिया भएर बितिन् । श्रीमान्ले गर्ने मायाका कारण छोरी बितेको पीडा बिस्तारै भुल्दै गइन् उनले । करिब डेढ वर्षअघि रिपुमायाले दोस्रो सन्तानका रुपमा अर्की छोरी जन्माइन् । दोस्रो सन्तान जन्माउँदा रिपुमाया साढे १८ वर्षकी थिइन् ।

छोरी जन्मिएपछि उनीहरुको परिवारमा खुसी छाएको थियो ।
बच्चामै दुई सन्तानकी आमा बनेकी रिपुमायाको खुसी धेरै समय टिक्न सकेन । स्थानीय ब्लक उद्योगमा काम गरेर परिवार पाल्दै आएका राजकुमार सेनाको कुटाइबाट मारिए । पहिलो सन्तान गुमाएकी रिपुमायालाई एकपछि अर्को ब्रजपात आइप¥यो । १४ वर्षमा विवाह गरेकी रिपुमाया २० वर्षमा विधवा (एकल महिला) बनिन् । श्रीमान्को मृत्युपछि शोकमा डुबेकी रिपुमायालाई एक्लो ज्यान पाल्न त मुस्किल छ भने त्यसमाथि पनि काखमा डेढ वर्षकी छोरी पनि छन् । कलिलै उमेरमा बच्चा जन्माएकी रिपुमायाको शरीर कमजोर भइसकेको छ । दिनभरि काम गर्न सक्ने अवस्था उनको छैन । तर, पारिवारिक अवस्थाका कारण काम नगरी उनीहरुको जीवन चल्दैन । आर्थिक अवस्था कमजोर हुँदा श्रीमान्को मृत्युपछि रिपुमायाले ज्याला मजदुरी गरेर सासूससुरा र छोरी पाल्नुपर्ने जिम्मेवारी आइपरेको छ ।
‘श्रीमान्ले दिनभरि काम गरेर कमाएको पैसाले चामल, नुन, तेल किनेर ल्याउनुहुन्थ्यो’, उनले भनिन्, ‘उहाँले सामान ल्याउने र मैले पकाउने गरेर बिहान–बेलुका खाने गरेका थियौँ, अब कसले ल्याएर दिन्छ ।’ शरीर कमजोर भएका कारण आफूले ज्याला मजदुरीसमेत गर्न नसक्ने भन्दै उनले श्रीमान्को मत्युपछि बाँच्ने आधार नभएको बताइन् ।

विज्ञापन

गरिबी र अशिक्षाका कारण चेपाङ समुदायका किशोरकिशोरीहरुले उमेर नपुग्दै बिहे गर्ने र सानै उमेरमा बच्चा जन्माउने गरेका छन् । तर, रिपुमायाको हकमा सानै उमेरमा बच्चा जन्माउने मात्र होइन, उनी सानै उमेरमा विधवासमेत बनेकी छन् । चेपाङ अभियन्ता केपी किरण शर्माले रिपुमायाको जीवनमा आइपरेको घटना सबैभन्दा दुःखद रहेको बताए । ‘सानै उमेरमा बिहे गर्ने र बच्चा जन्माउने चलन चेपाङ समुदायमा नयाँ होइन’, उनले भने, ‘तर सानै उमेरमा बिहे गरेर सानै उमेरमा विधवा बनेको बिरलै पाइन्छ ।’

साउन १ गते राप्ती खोलामा माछा मार्न गएका राजकुमारलाई सेनाले मरणासन्न हुने गरी कुटपिट गरेको थियो । शरीरभरि नीलडाम लिएर घर आएका उनको उपचारका क्रममा साउन ७ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । राजकुमारको मृत्युपछि उनीसँगै आश्रित रिपुमायासहित पाँच जनाको परिवारको बिचल्ली भएको छ । ऐलानी जग्गामा बस्दै आएका उनीहरुको कमाएर खाने एक टुक्रा जग्गा पनि छैन । राजकुमारको कमाइले सिङ्गो परिवार धानिएको थियो । आर्थिक अभावका कारण बनाउन सुरू गरेको घर सम्पन्न गर्न सकेका छैनन् । ज्याला मजदुरी गर्ने ससुरा विष्णुलाल पनि वृद्ध भइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस