शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • कुखुरा, अण्डा र मासुको मूल्य ह्वात्तै वृद्धि
विजनेश

कुखुरा, अण्डा र मासुको मूल्य ह्वात्तै वृद्धि

भरतपुर । जिउँदो ब्रोइलर कुखुरा र यसको मासुको मूल्य निरन्तर उकालो लागेको छ । एक महिनाको अवधिमा एक सय देखि १३० रूपैयाँसम्म वृद्धि भएको छ ।

त्यतिमात्रै होइन, अण्डा र चल्लाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । ह्याचरी उद्योगीले अघिल्लो महिना १० दिन चल्ला उत्पादन रोकेका थिए । यसरी अण्डा, चल्ला, मासु र जिउँदो कुखुराको मूल्य दैनिक बढ्नुमा ह्याचरी उद्योगीहरुको चलखेल रहेको पोल्ट्रीसँग आबद्ध व्यवसायीहरु बताउँछन् ।

चल्लाको मूल्य बढ्यो

विज्ञापन

मंसिर महिनामा रू. १० मा चल्ला बिक्री गरिरहेका ह्याचरीहरुले अहिले अधिकतम ५५ रूपैयाँसम्ममा बिक्री गरेका छन् । नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले क्रमशः बजार मूल्य सुधार हुँदै गएको बताए । ‘लागत ५५ रूपैयाँसम्म पर्छ’, उनले भने, ‘तर हामी जम्मा १०–१५ रूपैयाँमा बेच्न बाध्य भएका थियौँ ।’

मंसिरमा निकै कम रहेको चल्लाको मूल्य पुसमा सुधार भई २० रूपैयाँ पुगेको र पुसको अन्त्य तथा माघ महिनाबाट क्रमशः उकालो लाग्दै गएको उनले बताए ।

हप्तादिनमै ३० रूपैयाँ चल्लाको मूल्य बढेको छ । लागतभन्दा निकै कममा चल्ला बेच्न परेपछि धेरै व्यवसायी निराश भएको उनले बताए । अहिले नेपालमा हप्ताको ३५ लाख र चितवनमा मात्रै हप्ताको १५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेको छ ।

जिउँदो कुखुरा र मासुको मूल्य बढ्यो

कुखुराको मासुको बजार मूल्य प्रतिकेजी ३५० रूपैयाँसम्म पुगेको व्यवसायीहरु बताउँछन् । चिसो मौसममा कम कुखुरा उत्पादन हुने हुँदा बजारमा माग बढेसँगै मूल्य बढेको व्यवसायी बताउँछन् । तर, केहीले भने डेढ महिनाअघि गरिएको चल्ला नष्टको असरले किसानले खोरमा कुखुरा नहाल्दा कम उत्पादन भई मासुको मूल्य बढेको बताएका छन् ।

एक महिनाअघि जिउँदो कुखुराको मूल्य १३० रहेकोमा अहिले २४० सम्म पुगेको छ । त्यस्तै, मासुको मूल्य २४० रहेकोमा अहिले ३५० सम्म पुगेको अध्यक्षसमेत रहेका नेपाल कुखुरा, अण्डा, दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

चिसोको समयमा चल्ला र माउ कुखुराको पनि मृत्युदर उच्च हुने भएकाले कम उत्पादन भई जिउँदो कुखुरा र मासुको मूल्य स्वाभाविकरुपमा बढ्ने उनले बताए ।

बढ्यो अण्डाको मूल्य

अण्डाको मूल्य प्रतिक्रेट ३३० रूपैयाँ पुगेको छ । डेढ महिनाअघि २७० र १५ दिनअघि तीन सयको हाराहारीमा अण्डा प्रतिक्रेटको मूल्य थियो । अहिले बढेर ३३० सम्म पुगेको छ । किसानले ३०५ रूपैयाँ प्रतिक्रेट पाउने गरी अण्डा संघले मूल्य निर्धारण गरेको छ । चिसो मौसममा अण्डा उत्पादन कम हुने भएकाले पनि बजारमा कम उपलब्ध हुँदा मूल्य बढेको व्यवसायीको भनाइ छ ।

दाना महँगो

ब्रोइलर कुखुराको दाना अहिले प्रतिकेजी ६६ रूपैयाँ पुगेको छ, जसले गर्दा अण्डा र कुखुरा उत्पादनमा प्रत्यक्ष असर पुगेको नेपाल कुखुरा, अण्डा, दाना वितरक संघका निवर्तमान अध्यक्ष रामराल भूषालले बताए ।

चिसोको मौसममा कम उत्पादन हुने भएकाले अहिले बजारको माग र आपूर्तिको नियमअनुसार मूल्यमा घटबढ भएको उनले बताए । दाना महँगो हुँदा अण्डा र कुखुराको मूल्य बढे पनि अझै किसानले नाफा लिन नसकेको भूषालको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस